व्यापार मुख्य समाचार

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

श्रममन्त्रीलाई म्यानपावर व्यवसायीको अाराेप : एनजिओको प्रभावमा परेर हामीमाथि धरपकड

काठमाडौं । म्यानपावर व्यवसायीले सरकार र श्रममन्त्रीलाई चुनौती दिएका छन् । म्यानपावर सञ्चालकले वैदेशिक रोजगार सम्बन्धमा कुनै पनि नीतिगत निर्णय गर्दा श्रममन्त्रीले अाफूहरूसँग छलफल नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

 

काठमाडौंको सामाखुसीस्थित एक पार्टी प्यालेसमा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै म्यानपावर व्यवसायीले सरकारको कडा आलोचना गरे ।

 

समितिका अध्यक्ष हरिबहादुर पाण्डेले वैदेशिक रोजगारका लागि गन्तव्य देशमा रहेको दूतावासले ‘कामदार माग गर्ने कम्पनीको अवस्था बुझेर मात्र माग प्रमाणीकरण गर्नुपर्ने’ प्रावधान आफ्नोविरुद्ध रहेको बताए । दूतावासका कर्मचारी भ्रष्ट रहेको र महिनौंसम्म माग प्रमाणीकरणको फाइल सदर नगरिदिने आशंका रहेको पाण्डेको भनाइ छ ।

 

पाण्डे भन्छन्, ‘विभिन्न देशमा रहेका म्यानपावर दलालले स्वच्छ व्यवसाय गर्ने म्यानपावर व्यवसायीलाई फसाएका छन् र सरकारले तिनै दलालको पक्षपोषण गरिरहेको छ ।’ कालोधनलाई सेतो बनाउने काममा सरकार नै रहेको पाण्डेको आरोप छ ।

 

मलेसिया जाने कामदारको लागि ‘भीएलएन र बायोमेट्रिक’ नामको सिण्डिकेट तोड्दा सरकारले व्यवसायीसँग कुनै छलफल नगरेको कार्यक्रमका अधिकांश वक्ताले गुनासो गरे ।

 

अन्तरक्रिया कार्यक्रममा व्यवसायीले श्रममन्त्री एनजिओ र आइएनजिओको प्रभावमा परेर म्यानपावर व्यवसायीलाई पलायन गराउन खोजेको आरोप लगाएका छन् । ‘यदि यस्तो भयो भने हामीले पनि हातमा दही जमाएर बसेका छैनौं,’ एक व्यवसायीले आक्रोश पोखे ।

चुनौती श्रममन्त्री म्यानपावर व्यवसायी

विशेष