देश राजनीति प्रदेश ३

प्रधानन्यायाधीशको सिफारिस गर्न आज परिषद् बैठक

प्रधानन्यायाधीशको सिफारिस गर्न आज परिषद् बैठक

काठमाडौ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आज दिउँसो बस्ने भएको छ । उक्त बैठकले तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको स्रोतले बताएको छ । 

 

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गरिरहेका छन्। प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।

 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना भएपछि बैठक बस्न लागेको हो। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश सिफारिसका बेला कानूनमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहन्छ्न्।

 

कानूनमन्त्री शेरबहादुर तामाङले भने छिट्टै परिषद् बैठक बस्ने तर आफूलाई समय थाहा नभएको बताए। प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाएको पनि झण्डै तीन महिना भईसकेको छ । 

 

आज बस्ने बैठकले तीनै न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने छ। संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने छ।

 

संसदीय सुनुवाइ पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन्। तर संसदको कार्यसञ्चालन नियमावली नबनेकोले संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन नभएको स्रोतले बताएको छ । 

प्रधानन्यायाधीश सिफारिस

विशेष