देश राजनीति

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय

राष्ट्रपति सीसँग भेटघाटबारे मौन

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ गते शनिबारका दिन चीन भ्रमणमा जाने भएका छन् । उनको यो भ्रमण औपचारिक हुने परराष्ट्र मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

 

चिनियाँ प्रधानमन्त्री ली खछयाङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणमा उनकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय पार्टीका सांसदहरू, सरकारका उच्चपदस्थ अधिकारी, नीजि क्षेत्रका व्यवसायीहरू र सञ्चारकर्मीहरू समावेश हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी खछयाङ र वरिष्ठ चिनियाँ नेताहरूसँग भेटघाट गरी आपसी चासो र नेपाल चीन द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने हो कि होइन भन्ने विषयका सम्बन्धमा प्रस्ट उल्लेख छैन । साथै विज्ञप्तिमा मात्र  वरिष्ठ चिनियाँ राजनीतिक नेताहरूसँग भेटघाट हुने उल्लेख छ । 

 

भ्रमण कालमा प्रधानमन्त्री ओलीले नेपाल चीन बिजनेस फोरमको बैठकलाई सम्बोधन र बुद्धिजीवीहरूसँग दुई देशका सम्बन्धका बारेमा छलफल गर्नेछन् । भ्रमणकै अवधिमा दुई देशबीच केही आपसी हितका द्विपक्षीय सम्झौता हुने पनि मन्त्रालयले जनाएको छ । 

 

प्रधानमन्त्री ओलीले चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ह्लासाको भ्रमण गरी त्यहाँका प्रान्तीय नेताहरूसँग पनि भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणबाट असार १० गते बिहीबार स्वदेश फर्कने छन् । 
 

चीन भ्रमण प्रधानमन्त्री ओलीको

विशेष