मुख्य समाचार राजनीति

दुई छाक भात खान यूएनडीपीलाई गुहार्नु पर्दैः शर्मा

दुई छाक भात खान यूएनडीपीलाई गुहार्नु पर्दैः शर्मा

काठमाडौं । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक/दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन्।

 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले भने,‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाइदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्।’

 

 उनले भने,‘युएनडिपीलाई मेरो भन्‍ने के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएर पनि प्रशिक्षण लिन सक्छौं।’

 

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने,‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस्।’

 

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए। उनले भने,‘व्यक्ति/व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन्।’ सांसदलाई अब कसैले पनि ‘डिक्टेट’ गर्न नपर्ने शर्माको जिकिर छ।

 

उनले भने,‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ।’ दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाइ छ।

 

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ।

दिनानाथ शर्मा युएनडिपी

विशेष