राजनीति

कांग्रेस जिल्ला सभापतिको माग: केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

कांग्रेस जिल्ला सभापतिको माग: केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

काठमाडौं ।  नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापतिदेखि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानकोे व्यवस्था संशोधनका लागि लबिङ सुरु गरेका छन्। उनीहरू केन्द्रीय सदस्यदेखि सबै नेता तल्लो तहबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्नेगरी विधानमा रहेको पदन व्यवस्था संशोधनका लागि जिल्ला सभापतिको भेलामा प्रस्ताव लैजाने तयारीमा जुटेका हुन्।

 

असार ५ देखि ७ गतेसम्म हेटौंडामा हला सभापतिको भेला केन्द्रीय सभापति, उपसभापति, महामन्त्रीका साथै सदस्यहरू तल्लो तहबाटै निर्वाचित हुँदै महाधिवेशनमा सहभागी हुनेगरी विधान संशोधनको प्रस्ताव राख्ने भएका छन्। विधानमा रहेको पदेन व्यवस्थाले नेतृत्वलाई खुसी बनाएर पार्टी केन्द्रीय समितिमा पुग्ने र निरन्तर त्यसकै बलमा पार्टीभित्र शासन चलाउने पवृत्ति हाबी भएको उनीहरूको निस्कर्ष छ।

 

मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बुले पार्टी संगठनलाई बलियो बनाउन विधानमा रहेको पदने व्यवस्था हटाउनुपर्ने तर्क गरे। ‘पार्टी संगठनलाई बलियो बनाउन सबै नेताहरु तल्लो तहसम्म पुग्र्नुपर्छ। महाधिवेशनमा चुनिएर आउनुपर्छ,’ मोरङ सभापति लिम्बुले भने, ‘केन्द्रको मात्र होइन पदेन महाधिवेशन र अधिवेशन प्रतिनिधि हुने सबै व्यवस्था हटाउनुपर्छ। तल्लो तहबाटै सबै तहका नेताहरू निर्वाचित हुँदैआउनुपर्छ।’

 

विधानको यस्तो व्यवस्थालाई हटाउन जिल्ला सभापतिहरूले विगतदेखि नै लबिङ गर्दै आए पनि सफल हुनसकेका छैनन्।

 

कांग्रेस विधानको धारा १५(२) खमा केन्द्रीय सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यहरू एक कार्यकालका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। धारा ८ र १० को उपधारा १/१मा क्रमश क्षेत्रीय र जिल्ला अधिवेशनमा कार्यसमिति सदस्य, समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार स्वतः प्रतिनिधि हुने व्यवस्था छ।

 

संवैधानिक व्यवस्थाअनुसार पार्टी संगठनलाई ढाल्नुपर्ने बताउँदै अहिलेको स्वरूप र ढाँचाले कम्युनिष्टसँगको प्रतिस्पर्धा सम्भव नहुने निस्कर्ष निकालेका छन्। नयाँ व्यवस्थाअनुसार पार्टीका संरचनालाई तत्काल बदल्नु पर्ने बताउँदै जिल्ला सभापतिले क्रियाशील सदस्यता वितरणको अहिलेको पद्दति परिर्माजन गर्नुपर्नेमा जोड दिएका छन्।

 

 

नेपाली काँग्रेस महाधिवेशन

विशेष