समाज देश

शिक्षक सेवा आयोगले माग्यो एकै पटक दश हजार शिक्षक

शिक्षक सेवा आयोगले माग्यो एकै पटक दश हजार शिक्षक

काठमाडौँ । शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो।

 

आयोगले शुक्रबार सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ।

 

आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका शिक्षक माग गरेको हो। जसमा खुलातर्फ ५ हजार ४९८ कोटा तोकिएको छ। यस्तै, महिलामा एक हजार ४२१, दलित महिलामा ४९, मुस्लिम महिलामा १७ कोटा निर्धारण गरिएको छ। पहिलोपटक महिलाभित्र पनि उपसमूह बनाइएको छ।

 

विज्ञापन अनुसार आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याएको छ। आयोगले ७७ वटै जिल्लाका लागि दरखास्त आह्वान गरेको हो।

 

प्राथमिक तहका शिक्षकको छनोट जिल्लास्तरमा हुनेछ। लिखित परीक्षा असोज १३ गते शनिबारका लागि तय गरिएको छ।

 

शिक्षा विषयमा कम्तीमा दश महिनाको तालिम वा शिक्षा शास्त्र संकायमा कम्तीमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्णले परीक्षा फाराम भर्न सक्नेछन्।

 

दरखास्त फाराम संकलन तथा रुजु सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईले गर्ने आयोगले जनाएको छ।

 

विशेष