कला साहित्य साहित्य आज

विवस बाबूका ३ कविता

विवस बाबूका ३ कविता

बाटो                             
हाम्रा नङ्ग्राहरुले भित्तो उधिनेपछी 
बनेको हो यो बाटोको बनोट 

हामिले आफ्नो टाउको ढोकाएर फुटाएका हौं चट्यानहरू 
र चाक्लो बनाएका हौँ यो बाटोला 

खाली खुट्टा दौडेर हाम्रा पैतालामा कोपाएका हौं  सिसाहरु ,खिलहरू 
र बाटोला  नबिझाउने बनाएका हौँ

 

पसिना पोखाएर यो बाटोमा धुलो उड्न दिएनौँ 

हाम्रो निद्राले ननिदाई खनिरह्यो यो बाटोका नालिहरू 

हामीले आफ्नो उमेरलाई रगतले मुछेर ,
बिछ्याएका हौँ यो बाटोमा

र पो यो बाटो बलियो बनेको हो 

हामीले आफ्ना मुटुहरू भित्तामा टाँसेर 
जोगाएका हौँ यो बाटोलाई पहिरोबाट 

बेला–बेलमा हाम्रो थकानलाई छेउतिर बिछ्याएर बनाएका हौँ पार्किङ स्थल ।

हामीले आफ्नो शिर ठड्याएर स्वाभिमान बालेका हौँ , 
र यो बाटोलाई उज्यालो बनाएका हौँ 
अनि 
हाम्रा हत्केलामा आफ्नै बैँस फुलाएर राखेका हौँ छेउछाउमा 
यही बाटोलाई सुन्दर बनाउन 

 

हिजो 
नालिमा कुहिएको न्यायको साँघुरो सोच सफा गर्न 
हाम्री भाउजुले आफ्नी दुधे बच्चिलाई सडकमा सुताइन् 
तर,
यो युग बोकेको घोडाको टाप बजारियो 
हाम्री छोरीको हृदयमा 

 

आज 
सडकको छेउमा उम्रिएको झार उखेल्दै गरेकी 
हाम्री बिरामी आमालाई धकेलेर 
अघि बढ्यो यो ब्यवस्थाको एम्बुलेन्स 

र सायद भोलि 
हाम्रा छोराहरूले गुर्जेगानोको गाडी कुदाएर 
बाटो बिगारेको आरोपमा 
कलिला आङहरुमा यो बिधानले र्कोरा बजार्नेछ 

 

युगौंदेखी 
हामीले बनाएको समयको यो बाटोमा 
हाम्रै पैतालाहरु नहिंडेर 
किन कुद्छन ??
सभ्यताका टायलहरु 
जस्ले हाम्रा आँखाहरुमा भ्रमको हिलो छ्यापेर जान्छन् ।


 


आरक्षण
सहबासको चार महिनापछि 
नयाँ सृजनाको लिङ्ग छुटिन्छ 
त्यसपछी असुरक्षित हुन्छन्
संसारकै सुरक्षित घर भित्र 
केही नयाँ सभ्यताका सम्भावनाहरू 
किनिन्छन् केही पिल्स चक्किहरू 
वा
लगाईन्छन काला पर्दाहरु बन्दकोठाभित्र 
र निमोठिन्छ नयाँ युगको कलिलो घाँटी 

 

जसको आगमन असुरक्षित छ 
उसकै सुरक्षामा 
यो ब्यवस्थाले 
आरक्षणको ललिपप किन देखाउँछ ? 

 


प्रेमिकाको नाउँमा

ओ मेरी आजिवन प्रेमिका !
देख्यौ ? 
तिम्रो भूतपूर्व प्रेमी ,
तिम्रो पुरानो प्रेम अर्थात मेरो मुटु 
बजार अर्थात बिक्रिमा राखेको छ 

 

तिम्रो प्रेमले एउटा पाठलाई थप पुष्टि गरिदियौ
प्रेम प्रयोग रहेछ
जस्तो कि
मेरा बाजेले 
फोक्ल्यान्डबाट फर्किने बेला
रातो मलमलको सारी प्रयोग गरेका रहेछन्  
बजैको प्रेम माथी 

 

जस्तो कि ,
मेरा बाले
बारीमा कोदो रोप्ने बेला
अरुको भन्दा आमाको मेलो सम्मो बनाएर
अर्गानिकता प्रयोग गरेछन्  
आमाको मन माथी 

 

जस्तो कि, 
मेरा दाइले 
रातो गुलाफ प्रयोग गरिदिए 
भाउजुको प्रेमिल शिरमाथी 
र अहिले तिम्रो प्रेमका लागि 
विछोड कविता लेख्दै गर्दा 
भाइले देखाइदियो 
उसकी नयाँ  प्रेमिकालाई प्रयोग गरी 
बाँकी रहेका 
कन्डमका ताजा प्याकेटहरू 

मैले पनि त प्रयोग गरिदिएँ 
तिम्रो प्रेमको नाममा 
मुटुको ठूलो संवेदनशिल भू–भाग 

 

ओ मेरी प्रेमिका, 
हे¥यौ ?
पसलको माथिपटृी
साइनिङ्ग बोडमा गरेको छु 
मेरो मुटु अर्थात तिम्रो भूतपूर्व प्रेमका लागि 
दुई हरफ कविता को विज्ञापन 
प्रेम व्यापार पनि त हो 
र 
ब्यापार विज्ञापन पनि त हो 

 

‘प्रेम प्रयोग रहेछौ’ सिकेपछी
मैले विछोडमाथि पनि नयाँ प्रयोग गरिदिएँ 
उध्रिएको मुटुका टालाहरूमा कोलोनिङ्ग गरी, 
मैले बनाइदिएं थुप्रै नयाँ मुटुहरू
र यी यसरी नै प्रेम प्रदर्शनीमा राखेको छु 
व्यस्त बजारको बिच भागमा  
आऊ , हेरेर जाऊ तिम्रो प्रेमको प्रदर्शनी 
मलाई थाहा छैन प्रेम दर्शन हो या प्रदर्शन ।

 

ओ नव जवानहरू,
आऊ, यता आऊ
लैजाऊ एउटा एउटा मुटु  
थमाइदेउ तिम्रो प्रेमको हातमा 
यो एउटा नयाँ प्रयोग हुनेछ , कम्तिमा प्रेमको मामिलामा !

ओ मेरी आजिवन प्रेमिका,
सचेत रहनु 
तिम्रो हातमा आउन सक्छ ,
तिम्ले प्रयोग गरेको उही पुरानो मुटु ।


 

विवस बाबू

विशेष