राजनीति

मोहन बैद्यका नजरमा यी १४ शिर्ष नेता यस्ता छन्

मोहन बैद्यका नजरमा यी १४ शिर्ष नेता यस्ता छन्

२००३ सालमा प्युठानमा जन्मिएका मोहन वैद्य किरणले विद्यालय तहको शिक्षा गृहजिल्लामै पूरा गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पस झरे ।

 

दाङमा क्याम्पस पढ्दापढ्दै साथीहरूकै प्रभाव र दाङका सामन्त जमिन्दारको अत्याचार सहन नसकी समाज परिवर्तनका लागि कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागे । ०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएका वैद्य चौथो महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै ०४० सालमा नेकपा मशालका महासचिव भए ।

 

०४५ सालमा उपत्यकाको सेक्टर कान्डपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिए । उनको पार्टी पटक–पटकको विभाजनपछि ०५२ सालमा माओवादी जनयुद्धमा सहभागी भयो । वैद्य भारतीय जेलमै हुँदा माओवादी १० वर्षे जनयुद्धलाई स्थगित गर्दै शान्ति प्रक्रियामा आयो ।

 

तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा‍‍ बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिँदै पार्टीलाई संसदीय अभ्यासमा फसाएको भन्दै वैद्यले ०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे । सो पार्टी अहिले नेकपा क्रान्तिकारी माओवादी बनेको छ । वैद्यले महासचिवका रूपमा नेतृत्व गर्दै आएका छन् । ५४ वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय वैद्यले राजनीतिक दलका धेरै नेतासँग सहकार्य गरे भने कतिपय नेतालाई नजिकबाट चिन्ने मौकासमेत पाए ।

 

आफ्ना कुरालाई निर्धक्क र सटिक रूपमा राख्न सक्ने नेताको परिचय बनाएका वैद्यका नजरमा विभिन्न दलका १४ शीर्ष नेता यस्ता छन् ।


केपी ओलीः सत्तामा हुँदा आफूलाई महाराजा ठान्छन्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली कुनै काममा लागेपछि दृढतापूर्वक खटिनुहुन्छ ।

आफ्ना कुरा जोडदार रूपमा राख्ने र खरो रूपमा लानुहुन्छ । वैचारिक रूपमा उहाँको विचार हामीलाई मन पर्ने कुरा पनि भएन । उहाँ सरकारमा हुँदा एक प्रकारले दम्भ चढेको जस्तो लाग्छ ।

बाहिर दुनियाँमा अरू कोही पनि छैन, मै हुँ भन्ने खालको स्वभाव उहाँमा देखिन्छ । आफूलाई राजा–महाराजाजस्तो ठान्नुहुन्छ । त्यो खालको दम्भ नेतामा हुन जरुरी छैन ।


शेरबहादुर देउवाः आफ्ना कुरा हाकाहाकी राख्छन्
वैचारिक रूपमा भन्नुपर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको विचार र हाम्रो विचार मिल्ने कुरा भएन । कुराकानी गर्दा देउवाजी हाकाहाकी गर्नु हुन्छ । कुनै पनि कुरा लुकाउनु हुन्न, फ्याट्ट भन्नुहुन्छ ।


रामचन्द्र पौडेलः साधारणखालका नेता
कांग्रेस नेता रामचन्द्र पौडेलजी सरलखालको नेता हुन् । विचारमा पनि उहाँ र हाम्रो मिल्ने कुरा भएन । उहाँहरूले मान्ने विचारलाई पौडेल व्याख्या विश्लेषण गर्ने नेता हुनुहुन्छ ।

अन्यको तुलनामा उहाँ थोरै वैचारिकखालका नेता पनि हुन् । देउवाको तुलनामा पौडेलसँग वैचारिक अध्ययन देखिन्छ ।


प्रचण्डः गलत कुरालाई ठीक हो भनेर कन्भिन्स गर्न सक्ने
प्रचण्डले वैचारिक रूपमा गलत बाटो समाउनुभयो । एक किसिमले संसद्वादी कित्तातिर जानुभयो । उहाँमा मान्छेलाई कन्भिन्स गर्न सक्ने क्षमता छ । कन्भिन्स पनि दुई खालका हुन्छन्, उहाँसँग मान्छेलाई सम्मोहित गर्ने क्षमता छ ।

जुन कुरामा पनि कन्भिन्स गर्न सक्ने क्या १ सही र गलत दुवै कुरालाई कन्भिन्स गर्न सक्ने । उहाँमा अलिअलि जादुगरीको जस्तो झझल्को पनि आउँछ ।

उहाँले आश्चर्य भन्नुहुन्छ, चमत्कार भन्नुहुन्छ, यस्ता शब्द हुन्छन्, जसले गर्दा भएको यथार्थभन्दा पनि विषयवस्तुलाई अर्कै ढंगले भन्न खोजेको जस्तो भान पार्न सक्नुहुन्छ ।

क्रान्तिका लागि भए ठीकै पनि हुन्थ्यो । गलत ठाउँमा भए दिग्भ्रम हो । यस्तो कला पोजेटिभ भए राम्रो हुन्छ, निगेटिभ भए खराब हुन्छ । पहिला ठीक बाटोमा लाग्नुभएको थियो । ठीकै थियो, अहिले नेगेटिभतिर जानुभयो, त्यस्तो कलाको काम छैन ।


माधव नेपालः मनमा कुनै कुरा गुम्साएर नराख्ने
नेकपा नेता माधवकुमार नेपाल आफ्नो मन लागेको कुरा भन्नुहुन्छ । मनमा धेरै कुरा गुम्साएर राख्नुहुन्न । स्वभावका हिसाबले राम्रै मान्छे हो । तर, उहाँमा राजीतिको प्राविधिक विषयलाई धेरै ध्यान दिने र सैद्धान्तिक विषयलाई कम दिने देखिन्छ ।


झलनाथ खनालः समस्या आए भाग्छन्
झलनाथजी स्वभावैले भद्र खालको देखिने । उहाँमा सबैलाई मिलाएर लैजानुपर्छ भन्ने खालको सकारात्मक पाटो छ । तर, गलत प्रवृत्तिका विरुद्ध त्यति लड्न नसक्ने हो जस्तो लाग्छ । समस्या नजिकै आयो भने जुध्न नसक्ने, भाग्ने खालको स्वभाव उहाँमा देखिन्छ ।


डा. बाबुराम भट्टराईः अस्थिर स्वभाव भएका नेता
बाबुरामका विषयमा त के भनौँ खै १ बाबुरामजी स्थिर खालको स्वभाव भएको नेता होइन । उहाँ कहाँबाट कम्युनिस्ट आन्दोलनमा आउनुभयो खै, हुन त जनयुद्धका वेलामा दुःख गर्नुभयो ।

प्रचण्डजीसँग सल्लाह गरेर बाबुरामजीलाई जसरी पनि पार्टीमा ल्याउनुपर्छ भनेर ल्याएको हो । ल्याउन पहल गरेपछि उहाँ पार्टीमा आउनु पनि भयो । जनयुद्धमा लाग्नुभयो राम्रै गर्नुभयो ।

पछिल्लो कालखण्डमा जनयुद्धलाई यहाँसम्म ल्याउन प्रचण्डजी र बाबुरामजी मिलेर गर्या हुन् । उहाँले त्यो आफू लागेको पुरानो पार्टी छोड्न हुन्थ्यो क्या ! हामी विचार नमिलेर अलग भयौँ । हाम्रो तर्क पनि छ

। प्रचण्डजीले यही माओवादीलाई संसद्वादमा लग्नुहुन्छ भन्ने थियो । यही पुरानै संसद्वादमा जानु भन्ने जानेरै हामी अलग भयौँ ।


मोहनविक्रम सिंहः क्रान्तिकारी शक्तिलाई ठोक्ने
नेपाली कम्युनिस्ट आन्दोलनलाई धेरै पुराना नेताले प्रतिक्रियावादी सत्तालाई समर्पण गरे । तर, मोहनविक्रम सिंह पुरानो कम्युनिस्ट नेता भए पनि त्यो समर्पण कहिल्यै गर्नुभएन । आफूलाई जोगाएर ल्याउनुभयो । राजनीतिक रूपमा त्यो सकारात्मक पाटो हो । पछिल्ला कालखण्डमा संसद्वादी झुकाउ उहाँमा देखिन्छ ।

महोनविक्रमजीमा क्रान्तिकारीहरूलाई जहिले पनि ठोक्ने र अवसरवादीसँग मिल्ने विशेषता देखिए । इतिहास हेर्दा जहिल्यै पनि क्रान्तिकारीलाई ठोक्ने गरेकै देखिन्छ । झापा विद्रोहमा झापा विद्रोहीलाई ठोक्नुभयो ।

जनयुद्धका वेलामा जनयुद्धलाई नै ठोकेर विरोध गर्नुभयो । पञ्चायतमा कांग्रेससँग मिलेर विरोध गरेको भए पनि हुन्थ्यो नि । तर, पञ्चायतकालमा कांग्रेसलाई पनि ठोक्नुभयो ।


नारायणमान बिजुक्छेः एकलकाटे भएका छन्
नारायणमान बिजुक्छेजी आफ्नो ठाउँमा ठीकै हो । विगत पनि उहाँको राम्रै देखिन्छ । तर, पछि अलि एकलकाटे जस्तो हुनुभयो । एक्ला एक्लै हुन मन पराउने, अरूसँग त्यति संगत गर्न मन नपराउने स्वभाव उहाँमा देखियो ।

बिजुक्छेको सकारात्मक रूप भनेको निर्वाचनमा सहभागी हुने । तर, सरकारमा कहिल्यै नजाने ।


सिपी मैनालीः जनवादी क्रान्ति गर्ने विषयमा अलमल
माले नेता सिपी मैनालीजी नौलो जनवाद भन्नुहुन्छ, त्यो विचार हाम्रो नजिक पनि छ । उहाँले कम्तीमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्दै आउनुभएको छ, यो सकारात्मक पाटो हो । तर, कसरी जाने भन्ने विषयमा अलमल भएको जस्तो देखिन्छ ।


उपेन्द्र यादवः मधेसवादी चिन्तन हाबी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवजी शालीन र भद्र स्वभावको हुनुहुन्छ । चलाख र चतुर पनि हुनुहुन्छ । विगतमा उहाँ कम्युनिस्ट चरित्र देखिए पनि अहिले उहाँमा मधेसवादी चिन्तन धेरै देखिन्छ ।

पहिला उहाँको कम्युनिस्ट स्कुलिङको हो । तर, पछिल्लो समय विचारभन्दा क्षेत्रीयतावाद हाबी भएको देखिन्छ ।


महन्थ ठाकुरः भद्र र कम बोल्ने
राजपा अध्यक्ष महन्थ ठाकुरजीको विषयमा धेरै भन्न सक्दिन । धेरै लामो संगत पनि भएन । उहाँ भद्र खालको, थोरै बोल्ने र गम्भीर नेता हो । उहाँको बुझ्न नसक्ने कुरा, त्यति लामो समय कांग्रेसमा बस्नुभयो ।

जीवनको उत्तराद्र्धमा कांग्रेस छोडेर मधेस केन्द्रित दलमा लाग्नुभयो । त्यो अलि बुझी नसक्नु छ ।


विजय गच्छेदारः आफ्ना कुरा सशक्त रूपमा राख्न सक्ने
कांग्रेस नेता विजयकुमार गच्छदार आफ्ना कुरा सशक्त रूपमा राख्ने व्यक्ति हुन् । धेरैले उहाँलाई पदलोलुप भएको नेता भन्छन्, तर अरू नेता पनि यस्तै हुन् । परेको वेलामा सबै जान्छन् । गच्छादारजीलाई जहिले पनि मौका परेर हो । सत्तामा जान त अरूले पनि खोजेका थिए, तर अरूले उहाँले जस्तो पाएनन् । सत्ता पदलोलुपता संसद्वादी सबैको उस्तै हो ।


विप्लवः केही गरौँ भन्ने ऊर्जा भएका युवा
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव नयाँ युवा हो । केही गर्नुपर्छ भन्ने ऊर्जा भएको युवा नेता हो । कसरी अगाडि बढ्नुहुन्छ भनेर सबैले उहाँलाई हेरेका छन् । उहाँको त्यस्तो कमजोर पक्ष त के भनौँ । विप्लवजीले पार्टी नछोडेको भए हुन्थ्यो । हामी सँगसँगै भएको भए हुन्थ्यो । यो सामग्री नयाँ पत्रिकाबाट लिएका हौं ।

मोहन वैद्य किरण प्युठान

विशेष