राजनीति

चीनको पक्षमा बोल्दा परराष्ट्रमन्त्रीको यस्तो आपत्ति !

चीन विज्ञसँग भेटेर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?

चीनको पक्षमा बोल्दा परराष्ट्रमन्त्रीको यस्तो आपत्ति !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारी गरिरहँदा चीनबारे विज्ञ तथा जानकारहरूले यस विषयलाई महत्वका साथ हेरेका छन् । नेपाल–चीन सम्बन्ध कसरी बलियो हुनसक्ला ? नेपालमा चिनियाँ सहयोगको अपेक्षालगायत विषयमा उनीहरूले विशेष चासो राखेका हुन् ।

यस क्रममा नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरी त्यसबारे छलफल गरेका छन् ।

शनिबार अपराह्न पौडेलले मन्त्री ज्ञवालीको निवासमै भेट गरी नेपाल–चीन सम्बन्धबारे नेपाल सरकारको प्रष्ट धारणा नै नरहेको गुनासो गरे । सरकारले ‘एक चीन नीति’ अवलम्बन गरे पनि व्यवहार भने त्यसविपरीत रहेको पौडेलले बताए ।

नेपाल सरकारले चिनियाँ लगानीकर्तालाई निरुत्साहन गरेकोमा पौडेलले असन्तुष्टि व्यक्त गरे । यसबाहेक चीनमैत्री विज्ञहरूलाई उपेक्षा र दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार सरकारले नै गर्दैआएको पौडेलको भनाइ थियो । एक चीन नीतिलाई व्यवहारमै पालना गर्नेहरूमाथि सरकार र उच्च पदाधिकारीहरू नै असहिष्णु भएको उनले बताएका थिए ।

यस्तै नेपालमा व्यवसाय गरी बस्ने चिनियाँ नागरिकप्रति पनि सरकार असहयोगी रहेको आरोप पौडेलको थियो । पौडेलले चिनियाँ व्यवसायीहरूको हवाला दिँदै उनीहरूलाई सरकारी पदाधिकारीले विभिन्न बहाना बनाएर सताउने, चिनियाँ कम्पनीहरूलाई काम गर्ने वातावरण असहज बनाउने गरेको बताएका थिए ।

सरकारले चीनसँग सम्बन्ध र सहयोग बढाउनेतर्फ ध्यान नदिएको, बूढीगण्डकी परियोजना, केरुङ–काठमाडौं–पोखरा र लुम्बिनी जोड्ने रेल परियोजनालाई केरुङ–काठमाडौंमा सीमित गरेको, उपत्यकामा मेट्रो रेलको अध्ययन चिनियाँ कम्पनीले बारम्बार गरेको भए पनि सरकारले चासो नदिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई पौडेलले ध्यानाकर्षण गराएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने पछिल्लो केही महिनायता पौडेलले व्यक्त गरेका बिचार र अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । भेटको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले पौडेललाई त्यस्ता अभिव्यक्ति रोक्न आग्रह गरेका थिए ।

पौडेलले भने पछिल्लो केही महिनायता नेपाल–चीन सम्बन्धबारे नयाँ धारणा व्यक्त गर्दैआएका छन् । यस क्रममा उनले नेपाल सरकारको आलोचना गर्दैआएका छन् ।

नेपाल–चीन सम्बन्धबारे पौडेलले पहिलो पटक नेपाल आजसमक्ष विशेष अन्तर्वार्ता दिएका थिए । त्यसबेलादेखि नै पौडेलका अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाएको बुझिएको छ ।

पौडेलले मिडियामा दिएका अन्तरवार्ता साथै वी च्याटमा गरेका पोष्टबारे परराष्ट्रमन्त्री ज्ञवालीले आपत्ति जनाएका हुन् । छलफलको क्रममा परराष्ट्रमन्त्रीले त्यस प्रकारको विचार ब्यक्त नगर्न अध्यक्ष पौडेललाई चेतावनी समेत दिएका थिए । ‘सरकारले गरेका कामको विरोध नगर्न भन्दै उहाँले मेरा अभिव्यक्तिबारे घुमाउरो पारामा चेतावनी दिनुभयो’ अध्यक्ष पौडेलले भने ।

प्रेमसागर पौडेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–चीन सम्बन्ध

विशेष