राजनीति

सरकार सहभागीबारे राजपामा छलफल सुरु

सरकार सहभागीबारे राजपामा छलफल सुरु

काठमाडौ‌ । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र सरकारमा सहभागी हुने नहुनेबारे छलफल सुरु भएको छ । राजपाको सोमबार सुरु राजनीतिक समिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले यसबारे प्रस्ट धारणा दिन सदस्यहरूलाई आग्रह गरेका छन् ।

 

‘सरकारले हामीलाई सामेल हुन बारम्बार भनिरहेको छ,’ ठाकुरले बैठकमा भने, ‘एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ । त्यसैले यसबारे साथीहरूको धारणा बाहिर आओस् ।’

 

त्यसलगत्तै महतोले संविधान संशोधनको विषयमा सरकारको धारणा, थुनामा परेका कार्यकर्ताको मुद्दा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे ।

 

बैठकमा ठाकुर र महतोले मात्रै बोलेका थिए । ठाकुरले पार्टीको विधान बनाउने, महाधिवेशन गर्ने र पार्टीको वैधानिकता बचाउने सन्दर्भमा पनि समितिका सदस्यको धारणा मागेका थिए ।

 

६ वटा दलको एकीकरणपछि गत वर्ष असार ३० गते गठन भएको राजपाले निर्वाचन आयोगसमक्ष एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने वाचा गरेको थियो ।

 

तर तोकिएको समयमा निर्वाचन हुन नसकेपछि आयोगले राजपालाई गत साता पत्र लेख्दै एक महिनाभित्र महाधिवेशन गरेको जानकारी दिन भनेको थियो । यसरी आफ्नो वैधानिकतामै प्रश्न उठेपछि त्यसबारे छलफल गर्न राजनीतिक समिति बैठक बसेको हो ।

 

‘हामीले एक महिनाभन्दा कम समयमा महाधिवेशन गर्न सक्ने अवस्था छैन,’ महतोले बैठकमा भनेका थिए, ‘त्यसै हुनाले निर्वाचन आयोगलाई पत्र लेखेर थप ६ महिनाभित्र महाधिवेशन गर्ने समय माग्ने एक मात्रै विकल्प छ । होइन भने पार्टी बचाउन सकिँदैन ।’

 

महतोले निर्वाचन भएको यतिका समयसम्म संसदीय दलको नेता चुन्न नसक्नुले पार्टीको अकर्मण्यता सिद्ध भएको भन्दै त्यसलाई चिर्न शीघ्र कसै न कसैलाई नेता चुन्नुपर्ने बताए । कान्तिपुरमा खबर छ ।

राष्ट्रिय जनता पार्टी महन्थ ठाकुर राजेन्द्र महतो

विशेष