अर्थ मुख्य समाचार देश प्रदेश ३

२५ करोड घोटाला आशंकामा मन्त्रालयद्धारा खानेपानी संस्थानमाथि  छानबिन

२५ करोड घोटाला आशंकामा मन्त्रालयद्धारा खानेपानी संस्थानमाथि  छानबिन

काठमाडौं । नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परेपछि मन्त्रालयले छानबिन सुरु गरेको छ । मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

 

छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिए । अख्तियारले समेत छानबिनका लागि निर्देशन दिएको र मन्त्रालयमा संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबिन प्रक्रिया सुरु गरिएको उनले बताए । 


खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको छ । भुपेन्द्र प्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए ।

 

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुवै टेण्डरलाई नियतवस १० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।

 

टेण्डरमा दुवै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिए पनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकाले २५ करोड घोटाला भएको आशंका छ ।

छानबिन खानेपानी संस्थान

विशेष