मुख्य समाचार समाज

मन्दिरमा दलित महिला पुजारी

मन्दिरमा दलित महिला पुजारी

छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

 

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन् ।


सबै स्थानीयले स्विकारे पार्वतीलाई
अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ ।

 

स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, भगवान्प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए ।


आशीर्वाद लिन भिड
मन्दिरभित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्मा भेटिन्छन् ।

 

मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् । पार्वती भक्तजनको पूजा गराइदिने र टीका लगाएर आशीर्वाद दिन्छिन् । दर्शन गर्न आउने कसैले पनि उनलाई जात, थरबारे सोध्दैनन् ।

 

पार्वती आफैँ पनि जातभातको कुरा मान्दिनन् । ‘खै, भगवान्ले त यस्तो जातपात बनाएकै छैनन्, मलाई पनि त्यस्तो लाग्दैन,’ उनी भन्छिन् ।


पार्वती यसरी बनिन् पुजारी
पार्वतीका अनुसार उनी दाङ आएको वर्ष गाउँको सिरानको गोरेटो बाटोछेउको चट्टानको प्वालमा पहेँलो रङका दुईवटा सर्प देखिए । ती सर्प त्यही प्वालभित्र पसे ।

 

पार्वती त्यही समयमा नजिकैको खोलामा नुहाउँदै थिइन् । एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ, म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहीँ बस्न देऊ’ जस्ता शब्द बोल्दैै उनी नागबेली शैलीमा लडिबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् ।

 

स्थानीयलाई लाग्यो उनको शरीरभित्र ‘नागदेवता’ चढेछन् । पार्वतीमाथि ‘देवताको कृपा’ भएको भन्दै स्थानीयले मन्दिर बनाइदिने वाचा गरे । सोही स्थानमा पार्वतीकै पहलमा दाताहरूको सहयोगबाट नागेश्वर महादेव–पार्वती मन्दिर, गणेश मन्दिर, शिव मन्दिर र गौशालासमेत स्थापना गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा पार्वतीलाई नै तोकेका छन् । नयाँ पत्रिकाबाट ।

मन्दिर छुवाछुत

विशेष