मुख्य समाचार देश

ओली–सी भेटवार्ता: चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

ओली–सी भेटवार्ता: चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता
काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।
 
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
 
‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भयो,’ भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले टेलिफोनमा भने, ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’
 
भेटवार्तामा सहभागी ती सदस्यका अनुसार चिनियाँ राष्ट्रपति सीले अन्तरदेशीय रेलवे कनेक्टिभिटीलाई रुचिका साथ लिएका थिए । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको ३० मिनेट भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले रेलवे निर्माणको ठोस प्रस्ताव तयार पार्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । राष्ट्रपति सीले कनेक्टिभिटी आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत पर्ने जनाउँदै यही परियोजनामार्फत नेपालमा चिनियाँ रेल पुर्याउन सकिने बताएका थिए ।
 
राष्ट्रपति सीले नेपालमा राजनीतिक स्थिरता कायम भएको र नेपाल सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकता दिएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । नेपालले तय गरेको विकास लक्ष्यमा पुग्न सघाउन चीन तयार रहेको उनले बताए । नेपाल सरकारलाई चीनको पूर्ण सहयोग निरन्तर जारी रहने आश्वासन पनि उनले दिए । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति सीलाई बधाई दिएका थिए ।
 
यसैगरी बुधबार नै एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) का अध्यक्ष ली जिक्वानले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे । भेटमा नेपालमा लगानी विषयमा कुराकानी भएको थियो ।
 
प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली छ्याङबीच बिहीबार भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीन द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–चीन सम्बन्धका सबै पाटोमा छलफल गरिने छ । बैठकमा दुई देशबीच भएका सन्धि–सम्झौता कार्यान्वयन पक्षमा विशेष छफल हुने बताइएको छ । बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन र दुई देशबीच आधा दर्जनभन्दा बढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नौ सम्झौतामा हस्ताक्षर
 नेपाल र चीनका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबीच ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बेइजिङमा दुवै देशका पदाधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि थप सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरिनेछ ।
 
पहिलो सम्झौता नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रिड कर्पोरेसनबीच भएको छे । यो सम्झौता ‘नेपाल–चाइना क्रस–बोर्डर पावर ग्रिड इन्टरकनेक्सन प्रोजेक्ट’ को सम्भाव्यता अध्ययनका लागि गरिएको हो ।सम्झौताअनुसार चार सय केभीको केरुङ–रसुवागढी–गल्छी–रातमाटे प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिनेछ।
 
दोस्रो सम्झौता नेपालको लगानी बोर्ड र हुसिन सिमेन्ट नारायाणी प्राइभेट लिमिटेडबीच भएको छ । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुजिन सिमेन्ट कम्पनी लिमिटेड चाइनाका उपाध्यक्ष सु गाङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चिनियाँ सिमेन्ट कम्पनीले नेपालमा तीन हजार मेट्रिक टन क्षमताको सिमेन्ट उद्योग सञ्चालन गर्न १४ करोड ४० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँ ६९ करोड रुपैयाँ) लगानी गर्नेछ, जहाँ एक हजारले रोजगारी पाउनेछन् ।
 
तेस्रो समझदारीपत्र (एमओयु) ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीबीच भएको छ । एमओयुमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका उपमहाप्रबन्धक लियु डोङयानले हस्ताक्षर गरेका छन् । यो एमओयुअनुसार पूर्वी तराईका बिरिङ, कमला, कन्काई नदीको पूर्ण सम्भाव्यता अध्ययन गर्न तालिम दिइनेछ।
 
चौथो एमओयु नेपालको फोर्टुना इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड र चीनको गुइझाओ म्यारिटाइम सिल्क रोड इन्टरनेसनल इन्भेस्टमेन्ट कर्पोरेसनबीच भएको छ । एमओयुमा फोर्टुना अध्यक्ष भवानी राणा र गुइझाओका तर्फबाट झाङ जाओले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चार करोड ६० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) मा नेपालमा हाइल्यान्ड फुड पार्क स्थापना गरिनेछ, जहाँ विभिन्न थरीका फलफूल र तरकारी उपलब्ध हुनेछन्।
 
पाँचाैं सम्झौता युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, हाइड्रो सलुसन ग्रुप र साङ्घाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कप्पनीबीच भएको छ ।
 
यसलाई संयुक्त विकास सम्झौता भनिएको छ । सम्झौतामा हाइड्रो सलुसनका तर्फबाट ज्ञानेन्द्रलाल प्रधान, युनान सिन्ह्वाका महाप्रबन्धक सु जियानसिङ र साङ्घाईका सीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज एपिपी निर्माण गरिनेछ, जहाँ २.२ बिलियन चिनियाँ युआन लगानी गरिनेछ ।
 
छैटौं एमओयु सियुरी नायडी हाईड्रोपावर प्लान्ट प्रोजेक्टका लागि गरिएको छ । इपिसिएफ मोडलमा निर्माण गरिने यो परियोजनाको क्षमता ४०.२७ मेगावाट छ । एमओयुमा सिसुरी नायडीका शैलेन्द्र गुरागार्इं र चाइना नेसनल इलेक्ट्रक इन्जिनियरिङ कम्पनी लिमिटेडका झाङ यानफिले हस्ताक्षर गरेका छन्।
 
सातौं एमओयु नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसन (एनपिआइए) र वान बेल्ट वान रोड (ओबिओआर) इन्टरनेसनल ट्रेडबीच भएको छ । एमओयुमा एनपिआइएका अध्यक्ष दुर्गाविक्रम थापा र ओबिओआर इन्टरनेसनलका अध्यक्ष सभापति सु याले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार दुई लाखदेखि पाँच लाख थानका बीचमा पस्मिना खरिद प्रक्रिया अघि बढाउनुपर्नेछ।
 
आठौं सम्झौता मस्र्याङ्दी क्यासकेड हाइड्रोपावर प्रोजेक्टका लागि भएको छ । बुटवल पावर कम्पनी लिमिटेड र सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एससीआईजी) बीच भएको यो सम्झौताअनुसार मस्र्याङ्दीमा ६ सय मेगावाट क्षमताको संयुक्त परियोजना विकास गरिनेछ।
 
नवौं सम्झौता इपिसिएफ मोडलअनुसार ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी हाइड्रोपावर परियोजना निर्माणसम्बन्धी भएको छ । सम्झौतामा सिद्धकाली पावर लिमिटेड (एसपिएल) का अध्यक्ष गुरुप्रसाद न्यौपाने र चीनको डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कार्पोरेसनका अध्यक्ष चिन क्वेङले हस्ताक्षर गरेका छन् । परियोजनाको लागत १४ करोड ७० लाख अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) निर्धारण गरिएको छ। नागरिक दैनिकबाट ।
 
 
नेपालमा लगानी गर्न ओलीको आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका उनले नेपालको ऊर्जा तथा पर्यटन पूर्वाधार क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका हुन् । नेपाल–चीन सीमा नजिक अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाका लागि दुवै देशले काम गरिरहेको जानकारी उनले दिए ।
‘आर्थिक विकासका लागि पूर्वाधार महŒवपूर्ण छ । दुवै सरकार नेपाल–चीन सीमा नजिक अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना गर्न र हाल रहेका दुई देशबीचको सीमा नाकाको थप विकास गर्न काम गरिरहेका छन्,’ नेपाल–चाइना बिजनेस फोरमले बुधबार बेइजिङमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा तथा पर्यटन पूर्वाधार क्षेत्रमा लगानी गर्न पे्ररित गर्छु ।’
नेपाल र चीन असल मित्र मात्र नभई विश्वसनीय विकास साझेदार रहेको उनले बताए । आर्थिक र प्राविधिक कठिनाइका कारण नेपालमा रहेको स्रोतको उपयोग गर्न नसकिएको औंल्याउँदै उनले भने, ‘हामी यो परिदृश्य परिवर्तन गर्न र सफलताको कथा सिर्जना गर्न चाहन्छौं । ठूलो आर्थिक र प्राविधिक क्षमता भएको चीनले हामीलाई हाम्रो विकासको परिदृश्य परिवर्तन गर्न मद्दत गर्नसक्छ भन्ने हाम्रो विश्वास छ ।’
प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भएपछि सम्पन्न तीन तहका निर्वाचनपछि नेपाल दिगो विकास, शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए । नेपालको वर्तमान सरकारलाई संसद्को दुईतिहाइभन्दा बढी सदस्यले साथ दिएको उल्लेख गर्दै उनले अब यही सरकारले दिगो विकासतर्फ देशलाई अघि बढाउने स्पष्ट पारे । ‘लामो राजनीतिक संक्रमण पन्छाउँदै हामी अहिले राजनीतिक स्थिरता, शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा राजनीतिक स्थिरता कायम गर्ने दाबी प्रधानमन्त्रीको थियो ।
राजनीतिक स्थिरताले नीतिगत स्थिरता, सहनशीलता र निरन्तरताको सुनिश्चितता गर्ने उनले बताए । वैदेशिक लगानीका लागि नीतिगत स्थिरता आवश्यक पर्ने उनले जनाए । ‘मेरो सरकार तपाईंहरुलाई नीतिगत स्थिरता र निरन्तरता हुन्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छ,’ उनले भने । नेपालमा पूर्वाधार र प्रविधिको विकासमा लगानी गर्न आवश्यक रहेको उल्लेख गर्र्दै उनले यो काम चीनले गर्नसक्ने बताए ।
‘नेपालमा लगानी गर्नु भनेकै नाफाको व्यापार हो । बोलीले मात्र होइन, कार्यले नै नेपाल सरकार नेपालमा लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ,’ प्रधानमन्त्री ओलीले भने । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको उनले बताए । जलविद्युत्, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादन उद्योगलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उनले जनाए । नेपाल अहिले अन्तरहिमालय कनेक्टिभिटीतर्फ केन्द्रित भएको जनाउँदै उनले यसले द्विपक्षीय व्यापारका लागि अनुकूल वातावरण बनाउने दाबी गरे ।
‘लगानीकर्ता सधैं बजारको खोजीमा हुन्छन्, जुन नेपालमा समस्या छैन । तपाईंहरु सबैलाई थाहै छ नेपाल दुई ठूला चलायमान विश्व बजार (चीन र भारत) को बीचमा छ, जहाँ २.५ अर्बभन्दा बढी जनसंख्या छ । हाम्रा लागि उत्पादन मात्र समस्या हो । हाम्रो उत्पादन क्षमता सीमित छ,’ प्रधानमन्त्री ओलीले भने । उत्पादन, जलविद्युत्, सूचनाप्रविधि, सेवा प्रदायक, पर्यटन, खनिज, कृषिलगायत क्षेत्रमा वैदेशिक लगानी नेपालले खुला गरेको उनले जानकारी दिए ।
 

चीन भ्रमण केपी शर्मा ओली  चिनियाँ राष्ट्रपति सी जिन पिङ

विशेष