समाज देश

अर्ब लिटर दूध उत्पादन बढाउने

अर्ब लिटर दूध उत्पादन बढाउने

काठमाडौं । यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दूध आयात भैरहेको अवस्थामा सरकारले आगामी तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर बढाउने योजना बनाएको छ ।

 

पशुपालनमा निजी क्षेत्रलाई आकर्षित गर्दै व्यवसायीकरण गरी उत्पादन बढाएर आर्थिक वर्ष ०७७-७८ सम्म तीन अर्ब १३ करोड लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको छ ।

 

चालु आर्थिक वर्ष ०७४-७५ मा दुई अर्ब १४ करोड लिटर (२१ लाख ४० हजार टन) दूध उत्पादन हुने अनुमान गरिएको छ । तीन वर्षमा अहिलेको तुलनामा ९९ करोड ४० लाख लिटर दूध उत्पादन बढाउने लक्ष्य सहित रणनीति योजना निर्माण गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

 

आयोगले तयार गरेको त्रिवर्षीय मध्यकालीन रणनीतिमा आगामी आर्थिक वर्ष ०७५-७६ मा दुई अर्ब ५९ करोड लिटर र आव ०७६-७७ मा दुई अर्ब ८४ करोड ९० लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य छ ।

 

अहिलेको उत्पादनले बजार माग धान्न नसकेकाले उत्पादन बढाउनुको विकल्प नभएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह–सचिव श्याम पौडेलले बताए । ‘प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले ७२ लिटरमात्र उत्पादन छ,’ पौडेलले भने, ‘निजी क्षेत्रको समेत सहभागितामा दूध उत्पादन बढाउने तयारीमा छौं ।’

 

न्यूनतम पोषणको लागि दूध उत्पादन बढाउनुपर्ने मन्त्रालयले जनाएको छ । ‘विकसित मुलुकमा हाम्रोभन्दा करिब दोब्बर दूध प्रयोग गर्छन्,’ पौडेलले भने, ‘क्रयशक्ति बढेपछि दुग्धजन्य वस्तुको उपभोग बढ्दै जाने भएकाले उत्पादन बढाउनु पर्छ ।’

 

स्वदेशी उत्पादनले अपुग भएर अहिले पाउडरमात्र ३२ सय मेट्रिक टन विदेशबाट आयात भइरहेकाले पनि दूध उत्पादन बढाउनु आवश्यक रहेको पौडेलले बताए । नेपालमा वार्षिक दुई अर्बभन्दा बढी मूल्य बराबरको कच्चा र पाउडर दूध तथा दुग्धजन्य पदार्थ आयात भइरहेको सरकारी अधिकारी बताउँछन् ।

 

दूधले कुल गार्हस्थ उत्पादनमा नौ प्रतिशत योगदान पुर्‍याएको छ । दूधको माग वार्षिक आठ प्रतिशत बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा करिब साढे चार लाख र सहरी क्षेत्रमा डेरी उद्योगमार्फत २० हजारले रोजगारी पाएको सरोकारवाला बताउँछन् । मानव स्वास्थ्यको लागि अति आवश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दूधमा पाइने भएकोले दूध प्रयोग अनिवार्य मानिन्छ ।

 

सरकारले पशुपालन बढाएर दूध उत्पादन उकास्ने लक्ष्य लिए पनि बजेट विनियोजनमा भने कन्ज्युस्याइँ गरेको छ । सरकारले पशुपालनलाई कम प्राथमिकता दिएकाले लक्ष्य पूरा गर्न चुनौती रहेको सरोकारवाला बताउँछन् ।

पशुपालन दूध आयात

विशेष