देश राजनीति

चीनमा ओलीको व्यस्तता- धार्मिक स्थलको भ्रमण !

चीनमा ओलीको व्यस्तता- धार्मिक स्थलको भ्रमण !

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् ।

 

शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त क्षेत्रका उपप्रमुख लिउ जियाङले ल्हासा विमानस्थलमा स्वागत गरेका थिए । शुक्रबारै ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् । उनलाई इन्टरकन्टिनेन्टल होटेलमा सरकार प्रमुख छीले शिष्टाचार भेट गरेका छन् ।  बेइजिङबाट नयाँ पत्रिकाकालागि प्रमिला देवकोटाको रिपोर्ट :


शनिबार तिब्बतमा के छ ओलीको कार्यक्रम?

बिहान दुई धार्मिक स्थलमा घुमफिर
बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् । दुई धार्मिक स्थल घुमेरै प्रधानमन्त्रीको शनिबार बिहान बित्नेछ ।

यी दुवै मन्दिरको नेपालकी भृकुटीसँग साइनो छ । जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो ।


दिउँसो कृषि परियोजना हेर्ने
दिउँसो प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ । बिहानको घुमफिरपछि खाना खाएपछि उनी छुसुई परियोजना पुग्नेछन् । यो चीनकै एक नमुना कृषि परियोजना हो ।

अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।

यहाँको अति उच्च भेगमा पनि गोलभेँडा, काक्रो, अंगुर, स्याउलगायतका फलफूल र तरकारी उत्पादन गर्न सकिनेबारे परीक्षण भइरहेको छ ।


साँझ रात्रिभोजमा सहभागी
छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।

केपी ओली चीन भ्रमण तिब्बत सरकार

विशेष