राजु झल्लु प्रसादका ३ कविता
पछुतो
एक समय भै’सकेको थियो !
मैले तिम्रो लागि कविता नलेखेको !
तिम्रो ओठ लेखेँ !
तिम्रै मुस्कानको लिपिस्टिकले !
तिम्रो आँखा लेखें !
तिम्रै आँसुको गाजलले !
तिम्रो कान लेखें !
तिम्रै आवाजको विणाले !
तिम्रो नाक लेखें !
तिम्रै बैँसको वासानाले !
तिम्रो कपाल लेखें !
तिम्रै रेसमी नखराले !
प्रिय मान्छे !
र,यसरी एउटा सुन्दर अनुहार लेखें, तिम्रो !
तिमीबाट थोरै–थोरै तिम्रो सौन्दर्य झिकेर !
तिमीबाट अलिअलि तिम्रो बैँस चोरेर !
म मूर्ख,
तिम्रो लागि एउटा सुन्दर कविता लेख्न के बसेथँे !
तिमीलाई नै कुरुप बनाइदिएँ ।
तिमीलाई नै अपुर्ण बनाइदिएँ ।
प्रिय मान्छे,
माफ गर !
एक समय भै’सकेछ !
मैले तिम्रो लागि सुन्दर कविता नलेखेको !!
देश
नेतासँग नगाँसी हेरौ !
समाचार र पत्रकारको कुरा नसुनौं !
टिभी नखोलाैं, रेडियो नबजाऔं !
जनताको खप्पर, विचार र गुनासोलाई पनि नजरअन्दाज गरौं !
देश सुन्दर छ !
...साँच्चै धेरै सुन्दर छ यो देश !
शहर
गाउँ, गाउँ हराएको कुरा सुनाइरहेछ !
सहर, सहर हराएको कुरा सुनाइरहेछ !
शहर भन्छ–
शहरमा हलियुड भित्रियो –चेलिबेटी र साडी पसलहरु हराए !
भत्किएका स्मारकहरूको स्मृतिसम्म याद गरेनन् कसैले !
उत्तरआधुनिकता मौलायो – काम सस्तो, भोक महङ्गो भयो !
रेस्टुराँभरि खाना हुन्छ,
भोको पेटहरू सधैँ खाली नै हुन्छन् !
आफूभित्रै आफू हराएकाहरूको हुल,
एक–अर्काको लागि पराई !
दिनहुँ भेटिरहँदा पनि,
दिनहुँ ठोक्किरहदा पनि,
अहो ! कति अन्जान सबै
जवानहरू थुप्रिए !
रहर र सपनाहरु .... !
सबै जवान नै छन् !
शहर जवान भयो !
....
शहर जवान भयो ?
मानवताको दाहसंस्कार गरिरहन्छ !
महानगर–मानवनगर
....पशुपति–सधँैको मलामी !
शहर के भयो के ?
शहर यस्तै भयो !
गाउँ भन्छ–
गाउँमा बलियुड भित्रियो –गुन्युचोली हराए ! दौरा सुरुवाल हराए !
फापर ढिंडो कस्ले खाने अब ?
दुध र दही किन खाने अब ?
कुन्नी कुन सिरियलको कसले हो, के हो खाथ्यो,
त्यो पो खाने कि ?
त्यो पो लाउने कि ?
हैन, ए बज्या, पस्न खाडी !
( हर घरमा यस्तै सुनिन्छ ! )
संचार माध्यमले तन्त्रमन्त्र गरिरहे !
बाढीपीडित ..., भुकम्पपीडित !
३ लाख, ५ लाख.... !
प्रजातान्त्रिक देशमा नेता स्वतन्त्र भए, जनता अलपत्र भए !
(हर चिया चौतारीमा यस्तै आवाज सुसेली मारिरहन्छन् !)
लास उठाउने सासहरूको आस रहेन !
कोही फर्किएनन् खाडीबाट, बदनाम भए !
कोहि फर्किए....तर घर पुगेनन्, भए–गुमनाम भए !
वृद्दाआश्रम जस्तै भइगयो गाउँ !
जहाँ न छोरो फर्किएर आउँछ, न उसको खबर !
गाउँ के भयो के ?
गाउँ यस्तै भयो !
म गाउँमा थिएँ –हली थिएँ !
हलो कस्को हो ?
गोरु कस्को हो ?
जमिन कस्को हो ?
म केइ जान्दिनथेँ !
म वस् एक हली थिएँ !
...
म शहर आएर सियो भएँ !
कहिले तपाईको पेन्टी सिउँछु !
कहिले उहाँको फाटेको कोट सिउँछु !
कहिले फेरि मेरो देशको झण्डा सिउँछु !
म हलियुड भएँ ! बलियुड भए !
नव आगन्तुक फेसन जस्तै ठाउँ–ठाउँमा च्यातिएँ !
ठाउँ–ठाउँमा फाटिएँ !
ला..! उध्रिएछु पनि !
म के भएँ के ?
म पनि यस्तै भएँ !
.
.
र,
देश, देश हराएको कुरा सुनाउँछ कहिलेकाहीँ !