मुख्य समाचार समाज

साढे वर्षदेखि पति नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालमा, गंगामायाको स्वास्थ्य अवस्था गम्भीर

साढे वर्षदेखि पति नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालमा, गंगामायाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर पछिल्लो पटक वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

 

गोरखा फुजेलकी ६२ वर्षीया अधिकारी गणतन्त्र दिवसका दिन (जेठ १५) देखि आमरण अनशन बसेकी हुन्। लामो समयदेखि वीर अस्पतालमा उपचाररत उनले आफू र आफ्नो परिवारलाई अन्याय परेको भन्दै आमरण अनशन थालेकी हुन्।

 

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर अनशन बसेकै बेला अधिकारीका पति नन्दप्रसादको पनि वीर अस्पतालमै साढे तीन वर्षअघि मृत्यु भएको थियो। उनको अन्त्येष्टि अहिलेसम्म भएको छैन। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

 

आफूलाई न्याय नदिने हो फासी दिन माग गर्दै अधिकारीले चिकित्सकलाई थप उपचार गर्नसमेत दिएकी छैनन्। ‘धेरै दिनदेखि उहाँको शरीरले सलाइन लिएको छैन, स्वास्थ्य अवस्था निकै गम्भीर बन्दै गएको छ, शरीरका सबै अंग शिथिल भएका छन्’, मानवअधिकारकर्मी चरण प्रसाईंले भने।

 

प्रसाईंका अनुसार गंगागामायाको दुवै खुट्टा सुन्निएका छन्, सलाइन दिन शरीरमा नसा भेटिैदन र आइसियूमा जान पनि उनले मानेकी छैनन। ‘सरकारले जबसम्म मलाई न्याय दिँदैन त्योबेलासम्म म केही खान्नँ। मेरा पतिको पनि अनशनकै क्रममा ज्यान गयो।

 

बरु मेरो पनि ज्यान जाओस् म केही खान्न भन्दै उहाँले आइसियूमा जान मान्नुभएको छैन,’ अधिकारीलाई उद्धृत गर्दे प्रसाईंले भने। उनी वीर अस्पतालको मेल सर्जिकल वार्डको क्याबिन नम्बर ७ मा छिन्। आमरण अनसनकै क्रममा वीर अस्पतालमै २०७१ असोज ६ गते अधिकारीका पति नन्दप्रसादको मृत्यु भएको थियो।

 

अनशन बसेको तीन सय साठी दिनपछि उनको निधन भएको थियो। नन्दप्रसादको मृत्यु भएपछि गंगामायालाई मानवअधिकारकर्मी र चिकित्सकले दोषीलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिएर अनशन तोडाएका थिए। तर आश्वासनअनुसार दोषीलाई कारबाही नभएपछि गंगामाया फेरि अनशन बसेकी हुन्।

 

वीर अस्पतालका सहनिर्देशक डा. सरोज शर्माले गंगामायाको उपचार भइरहेको बताए। ‘उहाँको उपचार भइरहेको छ, केही समस्या भएको भए मलाई जानकारी हुने थियो, अहिले केही त्यस्तो समस्या भएको जानकारी छैन’, डा. शर्माले भने। अस्पताल स्रोतका अनुसार उनले खान मानेकी छैनन् भने घाटीबाट पाइप राखेर खान दिन पनि सकिएको छैन।

 

उनको पिसाब निकै कम भइरहेको छ, रक्तचाप ८०/६० र पल्सदर ७२ तथा श्वासप्रश्वास दर प्रतिमिनेट १८ रहेको छ। जेठ २४ गते अस्पतालले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको उल्लेख थियो। त्यतिबेलै आइसियूमा राखेर उपचार गर्न ‘काउन्सिलिङ’ भइरहेको पनि अस्पतालले जनाएको थियो।

गंगामाया अधिकारी नन्दप्रसाद अधिकारी कृष्णप्रसाद अधिकारी

विशेष