लालबाबु पण्डितसहित ३ मन्त्री हटाउने प्रधानमन्त्री ओलीको तयारी
राजपालाई भित्र्याउन नेकपाका मन्त्री हटाइँदै
काठमाडौं । केपी ओली जतिबेला सरकार गठनको अभ्यासमा थिए त्यसबेला आफू नजिककाहरुसँग एउटा कुरा दोहोर्याइरहन्थे, ‘जनतामा प्रभाव पार्ने काम जसले गर्नसक्छ उसलाई ल्याउनु पर्छ’ ।
त्यसो त पार्टी एकताको क्रममा समेत उनले आफूहरुले त्यस्तो काम गर्ने जुन काम स्वतः लोकप्रिय हुने अभिव्यक्ति दिए । ओलीको यस्तो अभिव्यक्ति र सरकार गठनको योजना अनुमान गर्दा लाग्छ उनी लोकप्रिय काम गर्न आतुर छन् ।
बलियो र स्थायी सरकारका लागि अन्य बाहना समेत नभएपछि ओलीलाई लोकप्रिय काम गर्ने दबाव छ नै । सोही अनुसार निर्विवाद रुपमै उनले केही त्यस्ता नाम छाने, जसको नाम यसअघि नै लोकप्रिय थियो ।
लालबाबू पण्डित, गोकर्ण विष्ट लगायत नेताहरु ओलीको नजरमा परिसकेका हुन् । पार्टीको आन्तरिक ‘लाईन’ मिलाउन पनि ओलीले उनीहरुलाई मन्त्रीको जिम्मेवारी दिएका थिए ।
३ महिने समिक्षापछि...
जनतामाझ लोकप्रिय बनेका पण्डित, विष्ट लगायत नेतालाई मन्त्री बनाएपछि जनताको गुनासो नरहने उनको अनुमान थियो । तर सरकार गठनको ३ महिनापछि ओलीले सोचे जस्तो भएन ।
भरोसा गरिएका पण्डित, विष्ट र तत्कालिन एमालेको तर्फबाट यातायात मन्त्री बनेका रघुवीर महासेठको कामबारे असन्तुष्टि सुनिन थाल्यो ।
कर्मचारीतन्त्रको बलियो संचरना चलाएर बसेका नेकपा निकट उच्च कर्मचारीहरुले नै पण्डितको काम गर्ने शैली ठीक नभएको भनी आलोचना गर्न थालेपछि ओलीलाई नै काम गर्न गाह्रो भइसकेको छ ।
यसबाहेक महासेठ र आपुर्ति मन्त्री मातृका यादवसँग समेत ओली असन्तुष्ट देखिएका छन् ।
हट्नसक्ने मन्त्रीहरुः
प्रधानमन्त्रीको चीन भ्रमण सुरु हुनुअघि सरकारभित्र यस्तो चलखेल सुरु भइसकेको थियो । लामो समयदेखि सरकारमा सामेल हुन आतुर राजपालाई कसरी समेट्ने भन्नेबारे प्रधानमन्त्री केपी ओली र प्रचण्ड लगायत नेताहरुबीच अनौपचारिक छलफल हुँदैआएको थियो ।
सोही अनुरुप सरकारमा रहेका तर उल्लेखनीय काम गर्न नसकेका मन्त्रीहरुलाई हटाउनसक्ने मनस्थितिमा थिए प्रधानमन्त्री । यद्यपि चीन भ्रमणपछि मात्रै यसबारे बिस्तृतमा छलफल गर्ने भन्दै उनले त्यो काम थाती राखेका थिए ।
शिहंदरबार स्रोतका अनुसार लालबाबू पण्डित, रघुवीर महासेठ र मातृका यादवलाई हटाएर राजपाका नेतालाई समेट्ने तयारी सरकारको छ ।
शिहंदरबारका उच्च अधिकारीले नेपालआजलाई दिएको सुचना अनुसार ‘राजपालाई सरकारमा सामेल गर्न पनि कोही न कोही हट्नुपर्ने थियो । मन्त्रीहरुमध्ये सबैभन्दा काम गर्न नसकेका मन्त्रीमध्ये छानेर ३ जना हटाउने तयारी भएको हो ।’
ती अधिकारीका अनुसार श्रम मन्त्री गोकर्ण विष्टको कामबाट पनि प्रधानमन्त्री सन्तुष्ट छैनन् । ठूला व्यवसायीहरुसँग मिलेर गरेका काम आलोचित हुन थालेपछि विष्टलाई पनि हटाइन सक्नेबारे छलफल भएको थियो ।
गृहमन्त्री र यातायात मन्त्रीबीच असमझदारी
यातायात व्यवसायमा देखिएको सिन्डिकेट हटाउन गृहमन्त्रीले सुरु गरेको अभियान जनतामाझ लोकप्रिय थियो । उनको अभियानमा केही उच्च अधिकारीको समेत साथ थियो ।
तर यातायात व्यवस्था विभागका महानिर्देशकलाई यातायात मन्त्री रघुवीरले मन्त्रालयमा तानिदिएपछि गृहमन्त्रीलाई त्यस अभियानमा काम गर्न असहज भएको भनी विवाद नै सुरु भयो ।
आम जनतामा समेत यस विषयलाई लिएर वहस भयो । मन्त्रीपरिषदभित्रै पनि गृहमन्त्री रामबहादुर थापा वादल र यातायात व्यवस्थामन्त्री महासेठबीच चर्को असमझदारी भयो ।
व्यवसायीसँग यातायातमन्त्रीको साँठगाँठ भएको भन्ने थाहा पाएपछि नै प्रधानमन्त्री थप सशंकित बनेका हुन् । जसले गर्दा पनि उनलाई सरकारबाट फिर्ता बोलाउन सहज भएको बताइन्छ ।