व्यापार अर्थ कर्पोरेट मुख्य समाचार देश प्रदेश ३

चार चिनी उद्यमीलाई पक्राउ गर्न आदेश 

चार चिनी उद्यमीलाई पक्राउ गर्न आदेश 

काठमाडौं। सरकारले ४ जना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। उखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले गृहको सहकार्यमा उद्यमी पक्राउ गर्न निर्देशन दिएको हो।
 

गृह मन्त्रालय अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्री प्रालि सर्लाही र इन्दीरा सुगर मिल्स नवलपरासीका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो। 
 


सरकारले उद्यमीमाथि धरपकड गर्ने भएपछि त्यस बारेमा आवश्यक परामर्शका लागि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु छलफलमा जुटेका छन्। नेपाल उद्योग परिसंघ पनि छलफलमा छ। उद्योगमन्त्री मातृकाप्रसाद यादवले गृहमन्त्री रामबहादुर थापा बादललाई लेखेको पत्रको हवाला दिँदै सर्लाही, महोत्तरी, नवलपरासी पूर्व र पश्चिमका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पक्रन निर्देशन दिइएको हो।
 

उखु किसान र उद्योगीबीच उखुको मूल्य भुक्तानीको विवाद बढिरहेका बेला सरकारले उद्योगीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। प्रत्येक वर्ष उखुको मूल्य भुक्तानीको विवाद बढिरहे पनि यस्तो कारबाहीको दबाब भने अहिलेसम्म भएको थिएन। 


 
मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेयता उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई जेल हाल्ने चेतावनी दिँदै आएका थिए। उद्योगीलाई पक्राउ पुर्जी काटिएको विषयमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघले बैठक डाकेको छ। महासंघको आधिकारिक धारणा यही बैठकले तय गर्ने वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए। 


 
नेपालमा उत्पादन हुनेभन्दा आयातित चिनी सस्तो हुने भन्दै चिनी उत्पादक संघले चिनीमा ५० प्रतिशत भन्सार लगाउन माग गरेको थियो। अर्थ मन्त्रालयले बजेटअघि नै भन्सार दर १५ बाट ३० प्रतिशत पुर्यााइदिएको छ। यद्यपि, अझै पनि आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्ने उद्योगहरु नै बताउँछन्। 


 
मन्त्री यादवले विभिन्न उद्योगबाट उखु उद्योगले किसानलाई करिब ८ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जानकारी प्राप्त भएको बताए। उनले आफूले त्यही बक्यौता असुलीका लागि गृहमन्त्रीलाई पत्राचार गरेको र बक्यौता नतिर्ने उद्योगीलाई कानुनबमोजिम कारबाही गरि छाड्ने पनि बताए। 
 
मन्त्री यादवले उखु उद्योगी र किसानबीचको समस्या समाधानका लागि आफूसँग कुनै पनि संघ संगठनका पदाधिकारी उपस्थित नभएको बताएका छन् ।  उद्योगीलाई समस्या भए त्यसको समाधानका लागि आफू तयार रहेको भन्दै उनले चिनी बिक्रीमा समस्या भए छलफलका लागि आफू तयार रहेको बताउँदै आएका छन् । 

पक्राउ उद्यमी

विशेष