व्यापार अर्थ कर्पोरेट अपराध सुरक्षा मुख्य समाचार देश प्रदेश ३

माई इन्भेष्टमेन्टका सञ्चालक अनिल विरुद्ध ठगी मुद्दा

 लाभांशको लोभ देखाएर ठगी गरेको खुलासा 

माई इन्भेष्टमेन्टका सञ्चालक अनिल विरुद्ध ठगी मुद्दा

काठमाडौं । माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरले करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। २० प्रतिशभन्दा बढी मुनाफा दिने प्रलोभनमा सञ्चालक गजमेरले सर्वसाधारणबाट कम्पनीको नाममा करौडौं रुपैयाँ उठाएको देखिएको छ। 


 

महानगरीय प्रहरी परिसर काठमाडौंमा आफूहरू ठगीएको भन्दै उजुरी दिनेको सङ्ख्या बढ्दो छ। गजमेरले सन् २०१० देखि काठमाडौंको कालिका टावरमा माई कम्पनी सञ्चालन गर्दै आएका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि गजमेरले सञ्चालन गरेको माई इन्भेष्टमेन्ट कम्पनीको लेखा परीक्षण लगायत कुनै पनि विवरण बुझाएको नदेखिएको प्रहरीले जनाएको छ।


 
२०६७ सालदेखि कम्पनीले वार्षिक साधारणसभा समेत गरेको देखिँदैन। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले कम्पनीको नाममा उजुरी परेकाले अनुसन्धान भइरहेको जानकारी दिए। ४ सय जना व्यक्तिबाट कम्पनीको नाममा पैसा उठाएको देखिएको छ।

 

राष्ट्र बैकसँग स्वीकृति नै नलिई निक्षेप र कर्जासमेत लिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो। प्रहरीमा उजुरी परेपछि सञ्चालक गजमेरले  आफूलाई फसाउन खोजिएको भन्दै बचाउन अपील गरेका छन्। उनी शक्ति केन्द्र धाएरै बच्ने प्रयासमा जुटेको स्रोतले जानकारी दिएको छ ।
 
 

अदालतमा ३ करोडको विगो 


सञ्चालक गजमेर विरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँ भन्दाबढी ठगी गरेको मुद्दा दर्ता भएको छ। २०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका हुन्। गत वैशाख २३ गते कास्की जिल्ला बस्ने भुषालजंग कुँवरले ७० लाख २३ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकम सहित ठगी मुद्दा दर्ता गराएका हुन्। 


 
कम्पनी विरुद्ध  ४५ लाख ५१ हजार रुपैयाँ बिगो सहित २०७४ पुस २८ गते सिन्धुलीका लोकहरि पौडेलले दिएको ठगी मुद्दा अदालतमा छ। वीरबहादुर गुरुङले पनि ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन्।

ठगी मुद्दा

विशेष