वन मन्त्रालयमा १८५ कम्प्युटरः मन्त्रीले एउटा पनि पाएनन्
काठमाडाैं । सिंहदरबारमा चाेर छिर्याे भनाैं, त्याे सम्भव छैन । कर्मचारीले बदमासी गरेकाे भनाैं, त्यत्राे वर्ष नगरेकाे गल्ति अहिले कसरी गरे हाेलान् ! यसअघि दुर्इवटा महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका, मन्त्रीसरह प्रधानमन्त्रीकाे सल्लाहकार पनि खार्इसकेका वन तथा वातावरण मन्त्री शक्ति वस्नेतलार्इ अहिले कि चाेर चाहिएकाे , कि बदमासी गर्ने कर्मचारीकाे हातमा हत्कडी लागेकाे हेर्नुछ ।
अरुभन्दा सोझै मानिने शक्ति बस्नेत यसरी रन्किने स्थिति भयो, कम्प्युटरका कारणले । उनले आफ्नो टेबुलमा एउटा कम्प्युटर राखिदिनु भनेर मन्त्रालयमा बहाली भएका दिनदेखि सचिव विश्वनाथ ओलीलाई भनेका भन्यै छन् । सचिवले पनि स्टोरलाई अह्राएको धेरै दिन भयो । तर, मन्त्रीकै टेबुलमा कम्प्युटर पुगेको छैन । एउटा मामुली कुरामा दिनदिनै किचकिच गर्नुपर्ने भएपछि बस्नेतले सचिवसँग मन्त्रालयभरिको सम्पुर्ण जिन्सी विवरण हेर्न मन लाग्यो भने ।
सचिवले भनेपछि स्टोरका कर्मचारी विश्व काफ्लेले सामानको विवरण बुझाए । विवरण हेरेपछि मन्त्रीले सोधे, ‘तपाईँ यो मन्त्रालय आउनुभएको कति भो ?’ उनले भने ,‘भर्खर १६ वर्षमात्रै भयो सर ।’ यसरी मन्त्री झस्किनु र रन्किनुपर्ने विषय हो, हालसालै मन्त्रालयकै बजेटबाट एक सय ८५ थान कम्प्युटर खरिद भएको जिन्सी विवरणमा देखिनु । तर, मन्त्रीको टेबुलमा दुई महिनादेखि मागिएको एउटाको सामान्यखालको कम्युटर पनि नपुग्नु ।
मन्त्रीले सचिवलाई सोधे, ‘नयाँ कम्प्युटर किनिएको रहेछ । तपाईको टेबुलमा कस्तो कम्प्युटर छ ?’ सचिवले भने,‘एउटा छ । तर, त्यो नयाँ हो जस्तो लाग्दैन !’
मन्त्रीले भने, ‘ल हेर्नुहोस्, यहाँ एक सय ८५ थान नयाँ कम्प्युटरको विवरण छ । तर कम्प्युटरचाहिँ कहाँ छ ?’ सचिवले भने ‘म तुरुन्तै जिन्सीलाई जिन्सीलाई ताकेता गर्छु ।’ भनेको १२ दिनभयो , न जिन्सीलाई ताकेता गरेका छन्, न मन्त्रीको टेबुलमा कम्प्युटर नै पुगेको छ ।
स्टोरका हाकिम विश्व काफ्ले १६ वर्षदेखि त्यही छन् । उनलाई मन्त्रालय अन्तर्गत के–कति सामान कहाँ–कहाँ छन् भन्ने कुरा मुखैमा कण्ठ हुनुपर्ने हो । तर मन्त्रीले सोध्दा पनि बेपत्ता भएको एक सय ८५ थान कम्प्युटरबारे बताउन सकिरहेका छैनन् । ‘म खोजेर, बुझेर भन्छु’, उनले जवाफ दिएको हो यो । कागजमा अरिद गरिएको जिन्सीको विवरण, हुने तर सामान नहुने भएपछि अहिले मन्त्रालयमा ठूलै हल्लिखिल्ली छ ।
सिंहदरबार कर्मचारी कम्प्युटर शक्ति वस्नेत