राजनीति

हिन्दू राज्य बनाउन प्रधानमन्त्री ओली पनि तयार ! (भिडियोसहित)

'राजा त असल हुन्, वरिपरी घुम्ने झत्तेहरुले बदनाम गराए'

हिन्दू  राज्य बनाउन प्रधानमन्त्री ओली पनि तयार ! (भिडियोसहित)

काठमाडौं । संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायत जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई एउटा समूहले अस्विकार गर्दैआएको छ । ‘षड्यन्त्र’ र ‘विदेशी चलखेल’ को आधारमा राजसंस्था हटाउँदै धर्म निरपेक्षता लागू गराइएको भन्दै उनीहरू असन्तुष्ट छन् ।

 

खासगरी राजसंस्था र हिन्दू अधिराज्यलाई पुनस्र्थापित गर्नुपर्ने माग गर्दै आएकाहरू यस्तो तर्क गर्छन् । उनीहरूका अनुसार अहिलेको उपलब्धि ‘विदेशी इशारामा’ मात्रै सम्भव भएको हो । यतिसम्म कि, प्रजातान्त्रिक दलहरूसमेत राजसंस्था हटाउन तयार नरहेको उनीहरूको दाबी छ ।

 

विश्वभर राष्ट्रिय पहिचानको लडाइँ भइरहँदा नेपालले पनि यसको लागि पहल गर्नुपर्ने भन्दै उनीहरूले विभिन्न गतिविधि गर्दैआएका छन् ।

 

स्वतन्त्र नागरिक समाज एउटा यस्तै समूह हो । जसले राजसंस्था र हिन्दू अधिराज्य स्थापना गर्नुपर्ने माग गर्दैआएको छ । यही संस्थाका राष्ट्रिय संयोजक हेमविक्रम सिलवाललाई हामीले नेपाल आजको स्टुडियोमा बोलाएका थियौँ ।

 

सिलवालसँगको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । सिलवालले राजसंस्थामार्फत नै राष्ट्रिय पहिचान बलियो हुने तर्क गरेका छन् । विश्वभर अहिले राष्ट्रिय पहिचानको लहर चलेकाले नेपालले पनि आफ्नो पहिचान खोज्नुपर्ने जिकिर गरे ।

 

 

कांग्रेसले बिगार्यो


सबैभन्दा लामो समय सत्तामा रहेको नेपाली कांग्रेसले अवसर पाउँदासमेत मुलुकको राजनीतिक अवस्था बिगारेको सिलवालको आरोप छ । वामपन्थीहरूको सहारामा कांग्रेसले राजनीतिक अस्थिरता ल्याएको भन्दै यसप्रति असन्तोष पोखे ।

 

आन्तरिक खिँचातानी र षड्यन्त्रमा अलमलिएर कांग्रेसले मुलुकको भविष्य पनि बिगारेको सिलवालको आरोप छ । गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले षड्यन्त्र गर्दै देशलाई कमजोर बनाएको उनको बुझाइ छ ।

 

यसबाहेक नेपालमा अहिले मात्रै प्रजातन्त्रको अभ्यास सुरु भएको उनको तर्क थियो । साथै यसअघि राजाहरूले समेत राम्ररी शासन गर्न नपाएको भन्दै सिलवालले राजसंस्था नै राष्ट्रिय पहिचानको मानक रहेको दोहो¥याए ।

 

यस्तै कमल थापा, पशुपति शमशेर राणा, सूर्यबहादुर थापालगायत नेताहरूलाई लक्षित गर्दै राजासँग नजिक रहेर काम गर्नेहरूले गलत सुझाव दिँदा विगतमा केही गल्ती भएको उनको भनाइ थियो ।

 

उनीहरू पदलोलुप र स्वार्थी भएकाले राजाको शक्तिको दुरुपयोग गरेको सिलवालको आरोप छ । अन्ततः नेपालको राष्ट्रिय पहिचानका लागि राजसंस्था नै आवश्यक रहेको उनले जिकिर गरे ।

 

प्रधानमन्त्री स्वयं चाहन्छन् राजसंस्था


सिलवालसहितको नागरिक समाजको टोलीले केही साताअघि मात्रै प्रधानमन्त्री केपी ओलीसमक्ष राजसंस्था फर्काउन भन्दै विज्ञप्ति पेस गरेका थिए । उनीहरूले मुलुकमा राजसंस्था आवश्यक रहेको भन्दै ५ महिनाभित्रै राजसंस्था फिर्ता ल्याउन प्रधानमन्त्रीसमक्ष निवेदन गरेको बताए ।

 

‘प्रधानमन्त्री स्वयं पनि राजसंस्था र हिन्दू अधिराज्य पुनस्र्थापना चाहनुहुन्छ’, सिलवालले भने, ‘सार्वजनिक रूपमा भन्न मात्रै नभएको हो । प्रधानमन्त्रीलगायत नेकपा र कांग्रेसका थुप्रै नेताहरूसँग हाम्रो संवाद भएको छ । उहाँहरू राजा फर्काउन चाहनुहुन्छ ।’

 

सार्वजनिक रूपमा भन्न अप्ठ्यारो भए पनि राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको पक्षमा थुप्रै राजनीतिक दल रहेको सिलवालको तर्क थियो । स्वतन्त्र नागरिक समाजका पदाधिकारीहरूले भेटेर गरेको बहस र संवादमा गणतान्त्रिक दलहरूसमेत राजसंस्था र हिन्दू राज्य पुनस्र्थापना गराउन चाहेको सिलवालको दाबी रहेको छ ।


 

राजसंस्था हेम विक्रम सिलवाल स्वतन्त्र नागरिक समाज

विशेष