ओझेलमा पूर्व–पश्चिम रेल
फार्इल तस्वीर
काठमाडौं । रसुवागढी हुँदै काठमाडौं आउने रेलमार्गको लम्बाइ ७५ किलोमिटर मात्रै हो जसको लगानी तीन खर्ब नाघ्ने प्रारम्भिक अनुमान छ । तर, समृद्धिको मेरुदण्ड त्यही रेलमार्गलाई मानिएको छ ।
उत्तरी रेलको लगानी प्रतिकिमि करिब चार अर्ब हुने चिनियाँ टोलीकै प्रारम्भिक अनुमान छ । पूर्व–पश्चिम रेलको लगानी भने प्रतिकिमि ५० करोड छ । हजार किलोमिटर कुद्ने रेलको डिपिआर र निर्माणसमेत भइरहेको छ ।
१६० किमि प्रतिघन्टाका दरले कुद्ने पूर्व–पश्चिम रेल चढेर बुटवलको मान्छेले नेपालगन्जमा र विराटनगरको मान्छेले वीरगन्जमा जागिर खान सक्छन् । सात घन्टामा पूर्व–पश्चिम गर्न सकिन्छ । तर, यो परियोजना ओझेलमा छ ।
काँकडभिट्टादेखि बुटवलसम्म डिपिआर सम्पन्न
करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर पनि तयार भइसकेको छ । ‘बुटवल–बर्दिबासको डिपिआर यसअघि नै तयार भइसकेको थियो । बर्दिबासदेखि काँकडभिट्टासम्मको डिपिआर पनि गत नोभेम्बरमा सम्पन्न भयो,’ रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिए ।
बर्दिबास–सिमरा रेलमार्ग अढाइ वर्षभित्र सञ्चालनमा
बर्दिबासदेखि लालबन्दीसम्मको त निर्माण नै सुरु भइसकेको छ । अझ बर्दिबासदेखि सिमरासम्मै १०८ किलोमिटर रेलमार्ग आगामी अढाइ वर्षभित्र सम्पन्न हुने रेल विभागको भनाइ छ ।
‘बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटरमा सिभिल इन्जिनियरिङको काम सम्पन्न भएको छ,’ प्रवक्ता उपाध्यायले भने । यसको मतलब रेल्वे ट्र्याक बेड बनाउने कार्य सम्पन्न भएको छ । त्यहाँ अब लिक बिछ्याउने काम हुनेछ ।
यस कामका लागि हालसम्म ३ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको जानकारी पनि विभागले दिएको छ । लालबन्दीदेखि सिमरासम्मको खण्डको सिभिल इन्जिनियरिङको कामका लागि यही आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेछ ।
त्यसका लागि १७ अर्बसम्मको ठेक्का लगाउन पाउने सहमति अर्थ मन्त्रालयले दिइसकेको जानकारी उनले दिए ।
सिमरा–तन्सरियाको रुट पुनरावलोकन हुँदै
सिमरा–तन्सरिया खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने हुनाले त्यसको विकल्पस्वरूप निजगढ–हेटौँडा–भरतपुर–तन्सरिया रुटको विकल्प अध्ययन भइरहेको छ ।
‘त्यो खण्डमा पनि परामर्शदाता छनोट कार्य भइरहेकाले एक–डेढ वर्षभित्रै डिपिआर सम्पन्न हुनेछ,’ रेल विभागका प्रवक्ता उपाध्यायले भने ।
यसअघि पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ ९ सय ४५ किलोमिटर अनुमान गरिएको थियो । तर रुट परिवर्तन हुनाले लम्बाई एक हजार किलोमिटर हुँदै छ ।
बुटवलदेखि गड्डाचौकीसम्म चार प्याकेजमा डिपिआर
बुटवलदेखि गड्डाचौकी (महाकाली) सम्मको डिपिआरसमेत आगामी दसैँसम्म सम्पन्न हुने जानकारी रेल विभागले दिएको छ । बुटवलदेखि गड्डाचौकीसम्मको करिब ४ सय ६ किलोमिटर लामो विद्युतीय रेलमार्गको डिपिआर चार प्याकेजमा बन्दै छ ।
चीन र दक्षिण कोरियाका कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मा डिपिआर निर्माण गर्दै छन् । नयाँपत्रिकाबाट
रेलमार्ग पूर्व–पश्चिम रेल