मुख्य समाचार समाज देश

सरकार अझैं सडक सास्तीमा उदासिन बन्दै

सरकार अझैं सडक सास्तीमा उदासिन बन्दै

काठमाडौं । ड्राइभिङ पेसामा संलग्न रामकुमार विष्ट जोरपाटीबाट गोकर्ण हुँदै सुन्ताखान दैनिक आवजतावत गर्छन् । बाटोको विकल्प नहुँदा बर्सातको समयमा हुने हिलो र सवारी साधन फस्ने समस्याले उनलाई वर्षा नआओस् भन्ने लाग्छ ।

 

‘पानी परेपछि न बाटो हिंड्न सकिन्छ, न सवारी साधन नै चलाउन सकिन्छ’, दैनिक गोकर्णबाट चावहिल हुँदै कमलादीसम्म कार्यालय धाउने सरिता विष्टको गुनासो पनि उस्तै छ । यो सडक खण्डमा वैकल्पिक बाटो नहुँदा र बर्सातको समय त यो बाटो हिँड्न नपरे पनि हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

 

नहिँडी नहुने बाध्यताले सरिता र रामकुमारजस्तै यो क्षेत्रका आम स्थानीयको साझा समस्या भएको छ, सडक यात्रा । ठेकेदार कम्पनीले समयमा काम नगर्दा चावहिल-जोरपाटी-गोकर्णेश्वर वा साँखु सडक क्षेत्र मात्रै होइन, राजधानीका विभिन्न सडकको अवस्था उस्तै छ । बिरामी पर्दा पनि समयमै हस्पिटल जान बाटोकै कारण समस्या पर्ने गरेको विष्टले बताइन् ।

 

गोकर्णेश्वर नगरपालिका-३ का अध्यक्ष राजेन्द्र भण्डारीले स्थानीय निकायले माथिल्लो तहसँग समस्या समाधानको पहल गरिरहेको बताए । उनले भने, ‘बुधबार मात्रै शंखरापुर, गोकर्णेश्वर, कागेश्वरी मनहराका नगर प्रमुख, सहरी विकास मन्त्री, उपत्यका विकास प्राधिकरण, सम्बन्धित ठेकेदार र सरोकार समितिको संयुक्त पहलमा एक महिनाभित्र सडकको समस्या समाधान गर्ने सहमति भएको छ ।’ महिनाभित्रै सडक बनाउने प्रतिबद्धता ठेकेदार कम्पनीले व्यक्त गरेको भण्डारीले बताए ।

 

सरकारले भने काठमाडौं उपत्यकामा दुईदेखि तीन वर्षअगाडि ठेक्का लागेका सडकको म्याद एक वर्ष थपेको छ । कामै नभएका सडकदेखि निर्माण सकिन लागेका सडकका निर्माण व्यवसायीले थप एक वर्षको सुविधा पाएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट काम भएका विभिन्न सडकका १० वटा प्याकेजको एक वर्षसम्मको समय थप भएको आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले बताए ।

 

यो आयोजनाले ठेक्का लगाएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको चार वटा प्याकेज रहेको छ । चावहिल-जोरपाटी-साँखु सडक खण्डको चार वटा प्याकेज छन् । लगनखेल-सातदोबाटो सडकका एउटा प्याकेज र बिजुली बजारमा निर्माण भइरहेको धोबीखोला पुलको गरी एकैपटक तीन सडकको नौ र एक पुलको गरी १० वटा ठेक्काको समय एक वर्षको निम्ति थप भएको हो ।

 

गत पुसमै समय सकिएकादेखि असार मसान्तमा सकिने आयोजनाको समय थप भएको हो । आयोजनाले ठेक्का लगाएको तीनकुनेस्थित बागमतीमा पप्पु कन्स्ट्रक्सनले बनाइरहेको पुलसहितको अन्य आयोजनाको पनि समय थप हुने प्रवक्ता श्रेष्ठले बताए ।

 

तीन वर्षअगाडि निर्माण तथा विस्तार सुरु भएका सडकको प्रगति काठमाडौंमै पनि निराशाजनक हुनु हाम्रै लागि पनि लाजमर्दो अवस्था होः

-विजयलाल श्रेष्ठ, प्रवक्ता, काठमाडौं उपत्यका सडक विस्तार आयोजना

 

ठेक्का लगाएपछि डिजाइनको कारण ढिला भएका, साइट क्लियर नभएका, अदालतको आदेशले सडक निर्माण तथा विस्तार कार्य रोकिएका र राम्रो प्रगति गर्दागर्दै पनि समयमा नै नसकिएका आयोजनाको समय थप भएको उनले बताए । ठेक्का तोड्ने वा समय थप बाहेकको विकल्प नरहेकोले विभिन्न समस्याका कारण काम गर्न नपाएका र सरकारले नै साइट क्लियर गर्न नसक्दा काम हुन नसकेका आयोजनाको बाध्य भएर समय थप गर्नुपरेको उनले प्रस्ट्याए ।

 

उपत्यकाभित्र र रिङरोडलाई जोड्ने यी सडक बनाउन दिएको समय सकिँदासम्म अधिकांशको प्रगति सन्तोषजनक नभए पनि बाध्य भएर समय थप गर्नुपरेको बुझाइ उनको छ । ठेक्का लागिसेकका योजना समयमा नै नसकिँदा ठेकेदारले थप समय खेल्न पाउने र सडक प्रयोगकर्ताले दुःख पाउने समय बढेको छ, जसका कारण अझै एक वर्ष ट्राफिक समस्या तथा वातावरणीय प्रदूषणसहितले नित्याउने विविध समस्याले मानवीय जीवन थप अस्तव्यस्त बनाउने भएको छ । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

जोरपाटी  ड्राइभिङ पेसा गोकर्णेश्वर नगरपालिका सडक सास्ती

विशेष