केपी ओलीलाई जेलमा कांग्रेसीले हेप्थे
देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन ।
आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे । त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने ।
राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने ।
चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् ।
राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन । न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।
बमकाण्ड र गिरफ्तारी
०४२ सालको कुरा हो । कांग्रेसले पञ्चायतविरुद्ध सत्याग्रहको आन्दोलन गरिरहेको थियो । आन्दोलनकारी कांग्रेसका नेतालाई गिरफ्तार गर्ने र थुन्ने क्रम चलिरहेको थियो । त्यसताका म पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव थिएँ ।
यसैबीच रामराजाप्रसाद सिंहको नेतृत्वमा राजतन्त्र र पञ्चायतविरुद्ध राष्ट्रिय पञ्चायतलगायत देशका विभिन्न स्थानमा बम विस्फोट भयो । विस्फोटमा संलग्न भएको आरोप लगाउँदै स्ववियु सदस्य हितकाजी गुरुङलाई गिरफ्तार गर्यो । त्यसवेलाका स्ववियु सभापति खगराज अधिकारी बाहिर थिए ।
गुरुङलाई छुटाउन आफूमाथि पक्राउ आदेश भए पनि अधिकारी क्याम्पस प्रमुखलाई लिएर अञ्चलाधीशकहाँ पुगेँ । छुट्टै सिख राज्यको माग गर्दै भारतमा भइरहेको सिख आन्दोलनसँग विद्यार्थी आन्दोलनलाई तुलना गर्दै बमकाण्डमा विद्यार्थी नै दोषी रहेको अञ्चलाधीशले बताए । तर, आफूहरूको संलग्नता अस्वीकार गरेपछि अञ्चलाधीशले गुरुङलाई छाडिदिए ।
चार दिनपछि पुनः क्याम्पस प्रमुख तथा स्ववियु सदस्य गुरुङलाई पक्राउ गरियो । फेरि पनि साथीलाई छुटाउन जाँदा मलाई प्रहरीले गिरफ्तार गर्यो । केही दिन हिरासतमा राखेपछि गुरुङसहित पोखरा जेलमा लग्यो । शान्तिसुरक्षा ऐनको धाराअन्तर्गत मुद्दा लगाएर चार वर्ष जेलमा राखियो ।
ओलीसँग ६ महिना जेल बसेँ
म र गुरुङलाई लगेकै जेलमा तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई राखिएको थियो । त्यसताका जेलमा अधिकांश कांग्रेसका नेता थिए । पोखरा जेलमा केपी ओलीले हामीलाई स्वागत गर्नुभयो । कांग्रेसका नेताहरूबाट केपी ओली हेपाइ(डोमिनेसन)मा थिए । कांग्रेसका राजबन्दीले उहाँलाई हेप्ने किसिमका व्यवहार गर्थे । कांग्रेसका नेताहरूबीच कुरा हुन्थ्यो ।
उनीहरूलाई भेट्न अनेक मानिस आउँथे । तर, केपीसँग मिल्ने, गफ गर्ने र भेट्ने कमै हुन्थे, जसले उनलाई न्यास्रो पनि लागेको हुनुपर्छ । मलगायका नेताको पोखरा जेल आगमनले केपीलाई पनि जेलमा साथीभाइ मिल्यो ।
केपी १२ वर्षअघिदेखि जेलमा थिए । हामी भर्खर जेल परेका थियौँ । विद्यार्थी नेता जेल परेको भन्दै आफन्त र साथी भेट्न आउँथे ।
जेल परेको लामो समय र केपीको जिल्ला नभएकाले केपीलाई भेट्न जाने मानिस कम हुन्थे । अनेरास्ववियुका विद्यार्थीको आगमनपछि ओलीलाई न्यास्रो केही कम भएजस्तो लाग्यो । झापा विद्रोहपछि पक्राउ परेका केपी ओलीलाई पञ्चायती सरकारले गोलघरमा राख्ने, चरम यातना दिने गरेको थियो । यसले गर्दा ओली दुब्लो पातलो र अत्यन्तै कमजोर थिए । बाहिर रोग नदेखिए पनि कमजोर थिए । खाना कम खान्थे । अध्ययन गरिरहन्थे । राति सुत्दा उनको खुट्टै तात्दैनथ्यो, चीसो भइरहन्थ्यो ।
सामन्तवादको अन्त्यका लागि आफूहरूले झापा आन्दोलन गरेको, तर केही व्यक्ति मारिएकोमा दुःख लागेको केपी बताउँथे । विचार, संगठनले वैध तरिकाले आन्दोलन गर्न पाएसम्म हतियार उठाउनु हुँदैन भन्ने उनको बुझाइ थियो । जेलमा बस्दा ओली हरेक कुरामा उत्कृष्ट थिए । चेस खेलमा कसैले जित्न सक्दैनथ्यो ।
क्यारेम्बोर्डमा मलाई देब्रे हातले नै हराउँथे । रमाइलो गर्थे । स्नातक पढ्ने विद्यार्थीलाई जेलभित्रै अंग्रेजी पठाउँथे । नेकपा मसालका नेता वाचस्पति देवकोटाबीच निकै ठूलो बहस हुने गथ्र्यो । ओलीसँगको त्यही तार्किक बहसकै कारण जेलबाट छुटेपछि प्रखर नेता देवकोटा एमालेमा आउने वातावरण बनेको थियो ।
त्यसताका मेरो लक्ष्य जेलबाट बाहिर निस्कने र शासकलाई फाल्ने थियो । तर, केपी ओलीको प्रधानमन्त्रीत्वकालमा आफू राष्ट्रिय सभाको अध्यक्ष वा यस्तै कुनै महत्वपूर्ण नेतृत्व पाउँला भन्ने सोच र चाहना थिएन ।
जेलमा पाएको दुःख
जेलभित्र मिलेर, रमाएर बसेको पञ्चायत शासकले देखिसहेनन् । र, हामीलाई छिन्नभिन्न बनाए । साउनदेखि पुससम्म पोखरा जेलमा राखेपछि मलाई तौलिहवा जेलमा पठाइयो । त्यहाँ पुसमा मौरीको गोलोजस्तो लामखुट्टे आउने रहेछ ।
भोलिपल्टदेखि झुल टाँगेर सुत्न थालेँ । गर्मी महिनामा खडेरीले मर्ने भएकाले लामखुट्टे लागेन । तर, गर्मीका कारण पसिनाले भिज्ने भएकाले एउटा तन्ना मात्रै ओच्छ्याएर सुत्नुपर्ने अवस्था बन्यो ।
राजबन्दीमा करिब एक वर्ष तौलिहवामा राखिएँ । त्यसताका प्रवीणता पत्रमाणपत्र तहको परीक्षा परेकाले मलाई भैरहवा जेलमा लगियो । तर, त्यहाँको बेथिति देखेपछि त्यसको समाधानका लागि म अनशन बसेँ । अनशन बसेपछि परीक्षा नै दिन नपाई फेरि तौलिहवा फर्काइयो । त्यसपछि नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा समेत पुर्याइयो ।
मलाई खगराज अधिकारीसहित वीरगन्ज जेलमा पुर्याइएको थियो । त्यस जेलमा सलिम मियाँ अन्सारी (हाल दिवंगत) पनि थिए । ग्यास्ट्रिकका बिरामी अन्सारी एक दिन औषधि खाएपछि बेहोस भए ।
जेल प्रशासनले अस्पताल लान मानेन । मलगायतले नाराबाजी गरेपछि बल्ल मेरै रोहबरमा अस्पताल लगियो । तर, अन्सारीको हातमा लगाइएको हतकडी प्रहरीले खोल्न मानेन । अन्सारी राजबन्दी नभएको (ख) श्रेणीको सिधा खाने) भन्दै उनको हातको हतकडी प्रहरीले खोल्न मानेको थिएन । अस्पतालमा चिकित्सकले हतकडी नखोली उपचार नगर्ने बताएछि बल्ल हतकडी खोलियो ।
दासढुंगा दुर्घटना दुःखद
राजनीतिमा लाग्दा विभिन्न किसिमका खुसी पाएँ । ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि म नै सबैभन्दा बढी खुसी भएँ । गणतन्त्र आएपछि अझ अर्को किसिमको खुसी थपियो ।
राजनीतिमा सक्रिय हुने क्रममा जेल पर्नु स्वाभाविक नै भएकाले त्यो खासै दुःखको कुरा लागेन । तर, दासढुंगामा गाडी दुर्घटनामा परी एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको निधनले ठूलै पीडा दियोे ।
अरू नेताको पनि निधन भएको छ, दुःख त लाग्छ नै । तर, जतिवेला देशले आवश्यक ठानेको र जुन उचाइको नेताहरू मदन र आश्रित थिए, त्यस बखतमा त्यसरी उहाँहरूको दुर्घटनामा परी अप्रत्याशित निधन भएकाले निकै दुःख लाग्यो ।
पारिवारिक साथ
मेरा मामाहरू बामपन्थी आन्दोलनमा थिए । त्यसले गर्दा उहाँहरूको तर्फबाट कम्युनिस्ट आन्दोलनमा लाग्न मलाई राम्रै सहयोग मिल्यो । राजनीति वा कम्युनिष्ट सिद्धान्त नबुझे पनि दिनहीनलाई सहयोग गर्ने स्वभाव आमाको थियो ।
समाजमा थिचोमिचो, हेलाहोचो र विभेद हुनुहुन्न भन्ने आमाको सोचका कारण दमनकारी पञ्चायती व्यवस्थाविरुद्ध लाग्न आमाका तर्फबाट मलाई सहानुभूति नै मिलेको थियो । तर, पुरोहित पेसामा रहेका पिताले भने राजनीतिमा लागेको मन पराउनु हुँदैनथ्यो । बरु आफूजस्तै पुरोहित बनिदिए हुन्थ्यो भन्ने बुबाको चाहना थियो । खर्च माग्दा पनि भाषण गरेर पैसा आइहाल्छ भन्ने जस्ता जवाफ दिनुहुन्थ्यो ।
पढ्नुपर्छ भन्ने प्रेरणा दिइरहनुहुन्थ्यो । पोखरा जेल परेको तीन महिनापछि बुबा मलाई भेट्न आउनुभयो । बदमासी गरेर जेल नपरेको भन्दै उद्देश्य पूरा नहुन्जेल नडराइ जेलमा बस्न आग्रह गर्नुभयो ।
घरमा हुँदा बुझाउन नसकेको कुरा जेलमा परेपछि बुबाले बुझेको र उहाँमा एक सय ८० डिग्रीको परिवर्तन आएको देखेपछि मलाई असाध्यै खुसी लाग्यो ।
हामीले के पायौँ ?
मलगायत धेरै नेताहरुको त्याग, तपस्या र बलिदानीले नेपालमा गणतन्त्र आयो । गणतन्त्र आएको पनि दशक पुगिसेकेको छ । दशक बित्दा पनि आममानिसको जनजीवनमा खासै प्रगति नदेखिएजस्तो लागेको छ । तर, केही भएन भन्ने पनि होइन ।
संविधान बन्यो । तीन तहका निर्वाचन मार्फत देशमा तीन तहका सरकार निर्माण भएका छन् । स्थानीय, प्रदेश र संघमा धेरैजसो बहुमतको सरकार भएकाले अब राजनीतिक स्थिरता, विकास र समृद्धि प्राप्त हुने आशा छ ।
विगतको दश वर्षमा विकासतर्फ देशलाई अघि बढाउने आधार भने प्रशस्त काम भएको छ । सरकारले रेल विकासका कुरा गर्दा कागजको रेल बनाएर हाँसो उडाउनेहरुले अहिले रेल त आउँछ, तर के लिएर जान्छ नेपालबाट भन्न थालेका छन् ।
अबको भूमिका
संघीय संसद् भनेको विधायिका हो । विधायिकाको काम विधि बनाउने हो । त्यसो हुँदा राष्ट्रिय सभाको अध्यक्षको हैसियतमा विधि निर्माण गर्ने, विधिअनुसार सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयनका लागि खबरदारी गर्ने, सरकारलाई गलत बाटोमा जान नदिनेलगायत आफ्नो पदीय भूमिकामा म दह्रोसँग उभिनेछु ।
अध्यक्ष भइसकेपछि म कुनै पार्टीमा छैन । तर, मैले कम्युनिस्ट विचार भने त्यागेका छैन । प्रतिनिधिसभाका अध्यक्ष भइसकेका रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्बाङजस्ता नेता अध्यक्षको कार्यकाल सकिएपछि पुनः पार्टी राजनीतिमा फर्किएका छन् ।
म पनि सक्रिय रहुन्जेल राजनीतिमा रहनेछु । तर, पार्टीले मलाई कस्तो स्थान दिन्छ वा अध्यक्षका पदावधि सकिएपछि पार्टीले कुन पदमा लिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने लाग्छ ।
प्रस्तुति: पुष्पराज कोइराला नयाँ पत्रिका दैनिकबाट ।
काँग्रेस केपी शर्मा ओली निरंकुश शासन