मुख्य समाचार देश

कामचोर ठेकेदार निगरानीमा

कामचोर ठेकेदार निगरानीमा

काठमाडाैं । सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध कर्णाली प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्र सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि कारबाही प्रक्रिया सुरु गरिएको क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए।

 

‘अधिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीलाई बोधार्थ दिएका छन्,’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, ‘केही जिल्लाको विवरण दुई/तीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौं।’

 

दुई साताअघि वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशको सुरक्षा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दुई साताभित्र काम नगर्ने ठेकेदार र कम्पनीको विवरण संकलन गरेर पठाउन निर्देशन दिएका थिए। गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारीहरू विवरण संकलनमा लागेका थिए।

 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई पाँच दिनभित्र काम सुरु गर्न निर्देशन दिएका छन्। ठेकेदारहरूलाई कार्यकक्षमै बोलाएर उनले पाँच दिनभित्र काम सुरु नगरे कारबाही गर्ने चेतावनी दिए।

 

‘गृहमन्त्रीज्यूबाटै ठेकेदारहरुको सिन्डिकेट तोड्न निर्देशन भएबमोजिम सबै निर्माण व्यवसायीलाई बोलाएर पाँच दिनभित्र काम सुरु गर्न निर्देशन दिएको छु,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘तोकिएको समयभित्र काम सुरु नगरे पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’ उनले निर्माण कम्पनीका साथै उपभोक्ता समितिप्रति पनि निगरानी बढाइएको बताए।

कर्णाली प्रदेश रामप्रसाद थपलिया विष्णु पौडेल

विशेष