राजन भट्टराई भन्छन्, चीनले अनुदानमा ल्याइदिएमात्र काठमाडौंमा रेल आउँछ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा. राजन भट्टराईले काठमाडौंसम्म चिनियाँ रेल चीनकै अनुदानमा आउने बताएका छन्।
उनले नेपालको स्रोतले रेल काठमाडौं सम्म ल्याउन सम्भव नभएको भन्दै चीनले अनुदानमा रेलमार्ग बनाइदिएमात्र काठमाडौंसम्म चिनियाँ रेल आउने बताएका हु्न्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र मामिलाका जानकार भट्टराईले केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए।
‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटकपटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ।’
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा यस अगाडि भएका १० बुँदे सम्झौताको कार्यान्वयनलाई प्राथमिकतामा राखिने समेत उनले बताए।
‘चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्वीपक्षीय व्यापार लगायतलाई अब द्रुत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग कुरा हुन्छ,’ उनले भने।
चीनसँग भएका सम्झौताहरुको कार्यान्वयनले गति नलिएको भन्दै उनले विगतमा भएका सबै सहमति तथा सम्झौताहरु कार्यान्वयनमा लैजानु पर्ने बताए।
नेपालमा चिनियाँ लगानी भित्राउने विषयमा समेत भ्रमणका क्रममा छलफल हुने उनले जानकारी दिए। नेपाल भारत प्रवुद्ध समूहका नेपालतर्फका सदस्य समेत रहेका नेता भट्टराईले समूहको आगामी बैठकपछि समूहले प्रतिवेदन बुझाउने जानकारी दिए।
‘हाम्रो तर्फबाट हामीले सबै प्रतिवेदन टुंगो लगाएका छौँ। अबको बैठक समूहको अन्तिम बैठक हुने,’ उनले भने । समूहको आगामी बैठक जुन २९ र ३० मा काठमाडौंमा बस्नेसमेत उनले जानकारी दिए।
राजन भट्टराई