विप्लव राज्यद्रोही : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् । उनले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्ति भनेका छन् । तीनै शक्तिले अस्थिरता फैलाउने प्रयास गरेको उनको निष्कर्ष छ ।
गृहमन्त्री बादलका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा राज्यद्रोही शक्ति हो । यद्यपि यो राजनीतिक प्रवृत्ति भएको उनले बताए । उनले भने, ‘जसले यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । त्यो राज्यद्रोही हो ।’ चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु (विप्लव) नै भएको बादलले बताए । उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको र प्रधानमन्त्रीले पनि मुलधारमा आव्हान गरेको उनले बताए ।
यसैगरी गृहमन्त्री बादलले तराई मधेसमा विखण्डनकारी शक्ति सलबलाउन थालेको बताए । सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै उनले भने, ‘उनीहरु अलग मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’ उनले भने ‘यी बिखण्डनकारी हुन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउने पनि उनीहरु नै भएको गृहमन्त्रीले आरोप लगाएका छन् ।
विप्लव राज्यद्रोही