अन्तरवार्ता भिडियो

टंक तिमिल्सिना भन्छन्, चाउमिन भन्दै प्रेम प्रस्ताव राख्नेको बाढी नै चलेको छ (भिडियो)

टंक तिमिल्सिना भन्छन्, चाउमिन भन्दै प्रेम प्रस्ताव राख्नेको बाढी नै चलेको छ (भिडियो)

छोटो समयमै कलाकारिता क्षेत्रमा निकै चर्चा कमाएका गायक हुन्, युवा गायक टंक तिमिल्सिना । उनलाई चिन्ने धेरै भाषा छन् । कतिले चाउमिन कपाल भन्छन्, कतिले टंकु भन्छन् । उनलाई यसरी मायाले बोलाउँदा असाध्यै मन पनि पर्छ ।

प्रदेश ७ को पहाडी जिल्ला अछाममा जन्मिएका टंक साधारण परिवारका सदस्य हुन् । २२ वर्षको कलिलो उमेरमै टंकले डेउडा, लोक दोहोरी र लोकपप गरी दुई सय बढी गीत गाइसकेका छन् । उनले गाएका गीत प्रायः रोमान्टिक हुने हुनाले जताततै बजेका देखिन्छन् ।

 

सुदूरपश्चिमको कला, संस्कृति र भाषा जगेर्ना गर्नका खातिर टंकले हरेक गीतमा आफ्नै लगानी, शब्द-संगीत भर्दै सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका छन् । अछाममा कक्षा १० को परीक्षा दिएर घरपरिवारको सल्लाहविपरीत राती २ बजे भागेर नेपालगन्ज झरेका टंकका आफ्नै उदेकलाग्दा कहानी छन् । 



हरेक क्षेत्रमा निरन्तरता र संघर्ष गरेर सफल भइन्छ भन्ने मान्यताका टंक नेपालगन्जमा रेडियोमा कार्यक्रम सञ्चालकबाटै यो सफलता चुमेको सम्झन्छन् । एक साधारण किसानको छोरो सहकारीबाट १२ हजार ऋण निकालेर नेपालगन्जको प्रचण्ड गर्मी र आर्थिक समस्यासँग जुध्नु उनका लागि त्यतिबेलाको महान् चुनौती थियो । आर्थिक अवस्था कमजोर भएकोबेला झुक्किएर कक्षा ११ मा नीजि कलेज भर्ना हुँदाको क्षण पनि टंकका लागि अविस्मरणीय छ । 


त्यसपछि गायक बन्ने धोको बोकेर काठमाडौंमा छिरेका टंकले झन् थप समस्यासँग लड्नु प¥यो । खाने मुखलाई जुँगालाई छेक्दैन भनेझैं टंक आफ्नो सपनाबाट कहिल्यै विचलित भएनन् । दोहोरी साँझ हुँदै स्टुडियो प्रवेश गरे । एकपछि टंकले अर्को धेरै गीत निकाले तर, सुरुका गीतमा टंकको मिहिनेत बालुवामा पानी हाले जस्तो भयो । 

 

अघिल्ला कुनै पनि गीतले सफलता दिलाएनन् तर, पनि टंकले बाटो बिराएनन् । त्यसपछि टंकले ‘सनसनी सनसनी यो मुटु खाइरहने’ बोलको दोहोरी गीत बजारमा सार्वजनिक गरे । त्यो गीतले टंकलाई वाहवाही बनायो । उनको त्यो गीत जताततै गुञ्जिन थाल्यो । त्यसपछि टंकले बल्ल गायक बनेको महशुस गरे । 


अहिले टंक प्रदेश ७ का सबैभन्दा चर्चित गायक बने भने देशभरी नै उनका फ्यानहरू बने । उनकै कारण पश्चिमेली भाषाले देशभर स्थान पायो । केही समयअगाडि मात्र टंकले ‘कुमारी’ बोलको गीत बजारमा सार्वजनिक गरेका छन् । जुन गीतले युट्युबमा ट्रेन्डिङ कब्जा जमायो । पश्चिमेली गायक र गीतमा युट्युब ट्रेन्डिङ जानु आफैंमा पहिलो इतिहास हो ।

 

कर्णालीसम्म सीमित रहेको डेउडा गीतलाई देशभर सञ्चार गर्नमा टंकले विशेष योगदान दिएका छन् । उनले गाएका गीतहरू अहिले नाइट क्लब, सवारीसाधन, होटेल, पार्टी प्यालेसलगायतका ठाँउमा बजिरहेका छन् । जसले गर्दा राष्ट्रिय कलाकारसँगको प्रतिस्पर्धामा उत्रिएको आभास आम स्रोता दर्शकलाई टंकले गराएका छन् ।

 

आफूले धेरै दुःख भोगिसकेकाले अरूलाई रमाउन खोज्ने मात्र आफ्नो उद्देश्य रहेको टंक बताउँछन् । केही समयपछि टंकले ‘मैना भाग–२’ सार्वजनिक गर्ने जानकारी दिए । 


चर्चित गायक टंक तिमिल्सिनासँग नेपाल आजका लागि प्रताप ओलीले गरेको रमाइलो गफ :


मेरो खाना 
मलाई सामान्य खाना मन पर्छ । खानामा  दाल, भात, तरकारी र रोटी लिने गर्छु । होटेलको खाना मन पर्दैन । 


मेरो लुगा
म आफूलाई सुहाउँदो र आर्थिक अवस्थाले भ्याएसम्मको लुगा कपडा छान्ने गर्छु । सपिङमा साथी पनि लिएर निस्कन्छु । 


मेरो अभिनेताहरू
मेरो मनपर्ने नेपाली नायक राजेश हमाल हुन् । उनी अभिनीत चलचित्र धेरै हेरेको छु । उनको साधारणपन र नेपालप्रतिको माया गर्ने बानी मलाई औधी मन पर्छ । त्यस्तै बलिउडमा मेरा मनपर्ने नायक शाहरुख खान हुन् । उनको अभिनय धेरै मनपर्छ ।


मेरो कपाल 
सबैभन्दा मलाई मेरो कपाल मनपर्छ । यही कपालले मेरो पहिचान दिलाएको छ । स्याम्पुले धुनुबाहेक अरू केही मिहिनेत गरेको छैन मेरो कपालका लागि । सबैले लाखौं खर्चेर यस्तो कपाल बनाउँछन् । मेरो यो प्राकृतिक कपाल हो । 


मेरो सेक्स
म सेक्सलाई सामान्य तरिकाले लिन्छु । मसँग सेक्स अनुभव छ । प्राकृतिक कुरालाई नकार्न सकिँदैन । जसरी दाल, भात, तरकारी खाना चाहिन्छ । सेक्सको पनि उत्तिकै अपरिहार्यता हामीलाई छ ।


मेरो सुताई 
म राती नांगै सुत्छु । नांगो नसुत्दा निद्र्रा नै लाग्दैन । साथीहरू हुँदा पनि पेन्टीबाहेक सबै खोलेरै सुत्छु ।


मेरो मृत्यु
मलाई जहाजमा हुँदा, डुंगामा सयर गर्दा डर लाग्छ । जनावरहरूमा कुकुर र किरा फट्याङ्ग्रामा बिच्छीदेखि डर लाग्छ । दुःख पर्दा त डराउँदिन् । 


मेरो मदिरा
म कैंयन दिनहरूमा मदिरा सेवन गरी विन्दास तरिकाले सुतेको छु । मदिरा सेवन गरी हल्लाखल्ला गर्ने बानी छैन । खाँदाखाँदा त्यहीँ सुतिदिन्छु । आफ्नो स्तरका साथीसँग मात्र मदिरा सेवन गर्छु । 


मेरो सपना 
मलाई आफू मरेको सपनाले झलझली याद दिलाउँछ ।


मेरो राजनीतिज्ञ
मलाई दुईजना राजनीतिज्ञ मन पर्छ, ती हुन्, केपी शर्मा ओली र प्रचण्ड । यी दुईटाको राजनीतिमा देखिएको योगदान र वाक् पटुता मलाई मनपर्छ । 


मेरो फेसबुक 
मलाई फुर्सद हुनासाथ अनलाइनमा बस्न मन पर्छ । कति समयसम्म अनलाइनमा बस्छु हिसाब नै छैन । राती ब्युँझिंदासमेत फेसबुक खोली बस्ने बानी छ मेरो । फेसबुकमा समाचार, अरूका स्टाट्स हेर्न मन पर्छ ।


मेरो घुमाई
मलाई सबैभन्दा मनपर्ने ठाउँ मेरै गृह जिल्लाको रामारोशन हो । धेरै ठाउँ घुमे । कानुनका हिसाबले मन नपरेको ठाउँ मलेसिया हो । त्यहाँको क्रूर कानुन मलाई मनपरेन । स्वतन्त्रता नै छैन ।


मेरो प्रेम
मलाई धरै प्रेम प्रस्ताव आउँछन् । त्यसलाई म स्वाभाविक रूपमा लिन्छु । एउटा कलाकारलाई प्रेम प्रस्ताव आउनु ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । दुई चारजनाले जीवन तपाईंसँगै बिताउँछु भनेर प्रस्ताव पनि राखे तर, जीवन लामो छ भनेर राम्ररी सम्झाएर साइड लगाएँ । 


मेरो गल्ती 
मलाई पढाई छोडेर ठूलो गल्ती गरेको महशुस हुन्छ । अहिले पढाईलाई निरन्तरता दिएको भए डिग्री गर्थेँ होला । 


मेरो फिल्म
मलाई नेपाली चलचित्रमध्येमा ‘मुग्लान’ मनपर्छ । त्यहाँ नेपालीले मुग्लान झर्नुको यथार्थ र नेपालीपन झल्काइएको छ । यो कुराले मेरो मन छोएको छ  ।


मेरो सम्बोधन 
मलाई कसले टंकु र चाउमिन कपाल भनेर सम्बोधन गरेको एकदमै मनपर्छ । 


मेरो रुवाई 
म धेरै रोएको छु । त्यसमध्ये एक वर्ष अगाडि मेरो जेठो दाइको मृत्यु हुँदा छटपटिएर रोएँ । म मलेसियामा थिएँ, तीन दिनपछिको टिकट थियो । म आउँदा शव जलाइसकेको थियो । मैले आफ्नो दाइको शवसमेत हेर्न पाइँन् । 


मेरो स्मरणीय क्षण
मलाई सबैभन्दा बढी पहिलोचोटि गीत गाउन रेकर्डिङ स्टुडियो छिर्दाको क्षण सम्झना मनपर्छ । त्यसबेला मैले स्वर्ग पुगेको आभास गरेँ भने ढुकढुकी पनि निकै चढेको थियो । 


मेरो बानी 
मलाई सबैभन्दा नरम बानी भएका मान्छे मनपर्छ । सबैभन्दा मन नपर्ने बानी भनेको रीस र शंकालु हो । 


मेरो आमाबुवा 
मलाई दुःख पर्दा आमालाई एकदमै सम्झन्छु ।  स्टेजमा जाँदा बुबालाई सम्झन्छु । 


 

अछाम टंक तिमिल्सिना युवा गायक

विशेष