मुख्य समाचार समाज

मुसहर बालबालिकासँग जन्मदिन मनाउँदै 'सुन्तली' ले भनिन्- तिमीहरुको मायाले तान्यो

मुसहर बालबालिकासँग जन्मदिन मनाउँदै 'सुन्तली' ले भनिन्- तिमीहरुको मायाले तान्यो

बर्दिबास । 'तपाईँले हामीलाई बिर्सन पाउनु हुन्न', महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सदाले सयपत्रीको माला हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन्। 

 

कुञ्जना र उनका पति हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइदिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्, 'हामीलाई मान्छे जस्तो बाँच्न सिकाउने नै तपाईँहरु हो, तपाईँहरुले बिर्सिदिनुभए हामी टुहुरा हुन्छौं।' 

 

अञ्जली मात्र नभई आरती, प्रियंका, निशा र आशासहितका १ सय ५० जना मुसहर बालबालिका शनिबार कुञ्जनालाई जन्मदिनको शुभकामना दिँदै आफ्नो मनको कुरा पोखिरहेका देखिए। 

 

बस्तीका मुसहर बालबालिकालाई धुर्मुस–सुन्तली आएको दिन ठूलै पर्व हुने गर्छ। शनिबार हास्यकलाकार कुञ्जना आफ्नो जन्मदिन मनाउन धुर्मुससहित बस्ती आएपछि यहाँका सबै बालबालिका फुरुंग भए। कुञ्जनालाई आफ्नै करेसाबारीमा फुलेका सयपत्रीका माला गलामा, हरियो दूबो चुल्ठोमा सिउरिदिन, राता अक्षता निधारमा लगाइदिन मुसहर बालबालिका आतुर देखिन्थे। 

 

बालबालिकाको स्वागत ग्रहण गरेकी हास्यकलाकार कुञ्जनाले सबै स्कुले नानीहरुलाई कापी र कलम दिइन्।

कुञ्जनाले बालबालिकालाई मिठाई खुवाउँदै भनिन्, 'तिमीहरुले दिएको मायाले नै मलाई तिमीहरुसँग बसेर जन्मदिन मनाउन यहाँ ल्यायो।' 

कुञ्जना जन्मदिन मनाउन बस्ती आएपछि बस्तीका सबैजसो घरमा आज घोङी (एकप्रकारको शंखेकिरा) को तरकारी पाकेको छ। 

'हाम्रो जलसा (उत्सव)मा घोङी विशेष कुरा हुन्छ', बस्तीकी अगुवा ६५ वर्षीया मानकी सदाले भनिन्, 'हाम्रा लागि धुर्मुस सुन्तलीभन्दा ठूला मान्छे अरु छन् भन्ने लाग्दैन, आज सबै घरको घोङी उहाँहरुले चाख्नुहुन्छ।' 

२०७२ सालको हिउँदमा बस्तीका ५० घर मुसहरलाई पक्कीघर बनाएर २०७३ साल बैसाख १ गते घर हस्तान्तरण गरेयता धुर्मुस–सुन्तली आफ्नो जन्मदिन मनाउन, मिथिला र मुसहर जातिका चाडपर्व विशेषमा भाग लिन यहाँ आउने गर्नुभएको छ। 

'हामी सुरुमा आउँदा यहाँका बासिन्दा मुन्टो फर्काएर हिँड्थे, साना नानीहरु सिंगानको लत्को झार्दै नाङ्गै कुद्थे' हास्यकलाकार धुर्मुसले दुई वर्षअघिको बस्ती सम्झँदै भने, 'अहिले यहाँका सबै बासिन्दा शिष्टाचारपूर्वक अतिथि सत्कार गर्छन्, यहाँका नानीहरु सफासुग्घर भएर स्कुल गएको देख्दा खुसी लाग्छ।' (रासस)

तस्बिरहरु : सीताराम कट्टेल (धुर्मुस)को फेसबुक

सीताराम कट्टेल कुञ्जना घिमिरे

विशेष