अर्थ बैंकिङ मुख्य समाचार देश प्रदेश ३

निजामती कर्मचारीको  उमेरहद बढाए १० अर्ब जोगिने 

निजामती कर्मचारीको  उमेरहद बढाए १० अर्ब जोगिने 

काठमाडौं । अर्थ मन्त्रालयले प्रस्तावित संघीय निजामती ऐनमा निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष पुर्‍याउने प्रस्ताव अगाडि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि राय दिँदै अर्थ मन्त्रालयले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउन प्रस्ताव गरेको हो । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा ५८ वर्ष उमेर पुगेको निजामती कर्मचारीले स्वतः अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारी तथ्याङ्कअनुसार यो वर्ष उमेरहद पुगेर सेवा निवृत्त हुने कर्मचारीको संख्या १६ हजारको हाराहारीमा छ । यस्तै आगामी वर्षमा १० देखि १२ हजार सरकारी कर्मचारी उमेरहद ५९ वर्ष पुगेर सेवा निवृत्त हुने अवस्थामा छन् ।

 

अहिले छलफलमा रहेको संघीय निजामती सेवा ऐनमा सरकारी कर्मचारी सेवा निवृत्त हुने उमेरहद बढाएर ६० वर्ष पुर्‍याएमा आगामी २ वर्षसम्म अवकाश पाउने अवस्था करिब २५ हजार कर्मचारी सेवामा रहनेछन् । उमेरहद बढाएर ६० वर्ष पुर्‍याए सरकारले आगामी २ वर्षका लागि नयाँ कर्मचारीको भर्ना र निवृत्त भएका कर्मचारीको निवृत्तभरणमा व्यहोर्नुपर्ने खर्च जोगिने छ । 

 

२ वर्षमा २५ हजार कर्मचारीले स्वतः अवकाश पाउँदा भने करीब १० अर्ब रुपैयाँ निवृत्तिभरणका लागि हुने खर्चमा थपिने छ । ‘२५ हजार कर्मचारी सेवामा नै रहने अवस्था भएकाले ठूलो संख्यामा कर्मचारी भर्ना गर्नुपर्ने अवस्था रहँदैन,’ निवृत्तिभरण व्यवस्थापन कार्यालयका एक अधिकारी भन्छन्, ‘उमेरहद बढाइए उनीहरूको निवृत्तिभरणका लागि खर्च हुने रकम पनि जोगिने देखिन्छ ।’

 

निवृत्तिभरण व्यवस्थापन कार्यालयको तथ्याङ्कका अनुसार अहिले २ लाख ४९ हजार सेवा निवृत्त कर्मचारीले निवृत्तिभरण (पेन्सन) पाउँदै आइरहेका छन् । सरकारले चालू आर्थिक वर्षको अन्त )असार मसान्त) सम्म सेवा निवृत्त कर्मचारीको निवृत्तिभरणका लागि ४० अर्ब रुपैयाँ खर्च हुने जनाएको छ ।

उमेरहद कर्मचारी

विशेष