नेवि संघभित्र झनै चर्कियो विवाद
काठमाडौं । माउ पार्टी नेपाली कांग्रेस आन्तरिक कलहका कारण सत्तारूढबाट प्रतिपक्षमा पुगेर पनि चेत नखुलेको उक्त पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन विवाद साम्य हुनुको साटो झन् बल्झिएको छ ।
संघका अध्यक्ष नैनसिंह महरसँग विमति राख्ने महामन्त्री कुन्दन काफ्लेसहितका असन्तुष्ट समूहका नेताहरूले बुधबार एकलौटी रूपमा १२ औं महाधिवेशनको मिति घोषणा गरेका छन् ।
आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएको राजधानीमा आयोजित पत्रकार सममेलनमा जानकारी दिइएको छ ।
असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले यसअघि अध्यक्ष महरले गरेका मनोनयनसमेत खारेज गरेको बताइएको छ । विधानबमोजिम रिक्त २२ जना केन्द्रीय केन्द्रीय समितिको बहुमतबाट पदाधिकारी तथा सदस्यहरूको मनोनयन गरिने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेवि संघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।
केही दिन यता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको कुरालाई लिएर सुलह हुन लागेको चर्चा सेलाउन नपाउँदै विद्यार्थी क्षेत्रमा भने देउवा र पौडेल समूहबीच कटाक्ष देखिएको छ । नेवि संघमा कृष्ण सिटौला समूहको पनि प्रभाव देखिन्छ ।