समाज देश

चलखेलमै अड्कियो धरहरा पुनर्निर्माण

चलखेलमै अड्कियो धरहरा पुनर्निर्माण

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो।

 

‘आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेर धरहरा पुनर्निर्माणको टुंगो लगाउने तयारी गरेका थियौं,’ प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट म्याद थप गर्नु भनेपछि रोकेका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेस गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पर्‍यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।

 

धरहरा पुनर्निर्माणका लागि ठेक्का पार्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँगको साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आशिष, स्वच्छन्दता र कुमार गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । आशिष कन्सट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको छ ।

 

प्राधिकरणले मंगलबार ११ बजे पाँच कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीले ठेक्का पाउँछ ।

चलखेल धरहरा पुनर्निर्माण

विशेष