भिडियो

विमानस्थलमाबाट पक्राउ परेका उपकुलपति कोइराला भन्छन्: प्रधानमन्त्रीले मेरो अपमान गरे, यो हिटलरिजम भयो (भिडियोसहित)

विमानस्थलमाबाट पक्राउ परेका उपकुलपति कोइराला भन्छन्:  प्रधानमन्त्रीले मेरो अपमान गरे, यो हिटलरिजम भयो (भिडियोसहित)

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह हुन खोजेको आरोप लगाएका छन् । गत शनिबार क्यानडामा हुन लागेको संस्कृत भाषासम्बन्धी सम्मेलनमा जान लाग्दा उनलाई प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी पठाएर नियन्त्रणमा लिइ् आफ्नो निवासमा एक घण्टा अघोषित थुनेर राखेका थिए । सो घटनापछि नेपालआजसँगको कुराकानीका क्रममा उपकुलपति कोइरालाले भने, ‘यो अपमानजनक र प्रधानमन्त्रीको हिटलरिजम हो । यस्तो हर्कत प्राज्ञिक क्षेत्रले सहन सक्दैन ।’ 

 

उपकुलपति कोइरालाले क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयको परिसरभित्र १११ देशका संस्कृतका विद्वानहरुको सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति नै अनुपस्थित हुँदा सो सम्मेलन ख्यालठट्टा जस्तो हुन पुगेको भनेर इमेल प्राप्त भएको जानकारी दिएका छन् । आयोजकले समापनको बेलामा भए पनि आइदिन आग्रह गरेर पत्र पठाएका छन् । 

 

विज्ञान प्रविधिको कुरा गर्ने, विकासका कुरा गर्ने तर संस्कृत प्रति भने वर्तमान सरकार असहिष्णु देखिएको कोइरालाको आरोप छ । उनले भने, ‘मैले यो सम्मेलनका लागि छ महिनादेखि मेहनत गरेको थिएँ । संस्कृत भाषाको विकास र अनुसन्धानमा सहभागी हुने हामीलाई अवसर प्राप्त भएको थियो । तर त्यसो हुन सकेन । विभिन्न मुलुकका संस्कृतज्ञसँग मेरो छलफल भएको थियो । २०२४ मा संस्कृत विश्व सम्मेलन गर्ने योजना थियो । ४३ सालमा संस्कृत विश्वविद्यालय स्थापना त भयो, तर संस्कृतको विकास हुन सकेको छैन । नेपाल सरकारको इच्छा नभई विकास कुनै पनि क्षेत्रको विकास हुन सक्दैन थियो ।

 

मैले गोपालमान श्रेष्ठ शिक्षामन्त्री हुँदा मैले यसबारे कुरा गरेको थियो । उहाँले सहयोग गर्छु भन्नुभयो । मैले ४० लाख माग गरे । उहाँले अहिलेका लागि ३५ लाख लैजानु भन्नु भयो । सरकारको तर्फबाट त्यो बेला आशयपत्रसहित ३५ लाख दिने निर्णय गरिदिनु भयो । विश्व संस्कृत सम्मेलनका लागि त्यो रकम दिने भनियो । तर निर्वाचित सरकार आएपछि त्यो काम अवरुद्ध भयो । हालका प्रधानमन्त्रीले वैदेशिक खर्चमा कटौती गर्ने भन्नु भएको रहेछ ।  त्यसपछि मेरो विश्वविद्यालयका अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. काशीनाथ न्यौपानले वर्तमान अर्थमन्त्रीसँग कुराकानी गर्न भन्नुभयो । म दाङबाट काठमाडौं आएँ । अर्थमन्त्रीज्युले केही न केही गर्छु भन्नु भयो । पछि उहाँले १० लाख दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजानु भयो भन्ने सुनेको छु ।’

 



 

कुलपतिको अनुमति बिना नै विदेश जान खोज्नु गलत होइन भन्ने प्रश्नमा उपकुलपति कोइराला भन्छन्, ‘कुलपतिको स्वीकृति बेगर उपकुलपति विदेश जानु हुँदैन भन्ने नियम छ । तर व्यवहारमा उपकुलपतिले आफ्नो कार्यक्रमबारे कुलपतिको कार्यालयमा जानकारी गराएर विदेश जान गरेका छन् । यसअघि पनि म दुई पटक यसैगरी विदेश गएको हुँ । नेपाल संस्कृत विश्वविद्यालयमा मात्रै होइन नेपालका १० वटै विश्वविद्यालयका उपकुलपतिहरुले यसै गर्छन् । विश्वविद्यालय भनेको स्वायत्त निकाय हो । यो निकायमा कुलपति भनेका आलंकारिक मात्रै हुन् । कार्यकारी पद भनेको उपकुलपति हो । उपकुलपतिलाई आफै कार्यकारी हुँ जसै गरी कुलपतिले विमानस्थलबाट प्रहरी लगाएर बालुवाटार ल्याएर अघोषित नियन्त्रणमा राख्नु गलत भयो भनेर सबैले भनिरहेका छन् । ’

 

सरकारी अरु कर्मचारीहरुले जस्तो नियम विश्वविद्यालयका उपकुलपतिहरुमा पनि लागू गर्न खोज्नु गलत भएको कोइरालाको तर्क छ । उनको मतमा विश्वविद्यालय भनेको प्राज्ञिक थलो हो । स्वायत्त क्षेत्र हो । विश्वविद्यालयका लागि उपयुक्त÷अनुपयुक्त के हो भन्ने कुरा सो क्षेत्रका विज्ञहरु आफैले थाहा पाउँछन् । कर्मचारीको जस्तो नियममा प्राज्ञिक क्षेत्र बस्न सकिदैन । 

 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइराला कांग्रेस निकट हुन भने सोही विश्वविद्यालयका रेक्टर रमेश ढकाल सत्तारुढ दलनिकट छन् । रेक्टर ढकालले नै प्रधानमन्त्रीलाई पोल सुनाएका कारण यो घटना भएको हुन सक्ने सम्भानालाई कोइरालाले नकारेका छैनन् । 

 

विमानस्थलबाट उपकुलपतिलाई समातेर बालुवाटारमा थुन्ने शैलीको घटनापछि विषयले ठूलो चर्चा पायो । त्यसपछि कुलपति तथा प्रधानमन्त्री केपी ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल कसैले पनि आफूसँग कुराकानी नगरेको कोइरालाले जानकारी दिए । 

 

विमानस्थलमा चार जना प्रहरी आएर ‘तपाईलाई कुलपतिले भेट्न खोज्नु भएको छ भनेर गाडीमा हालेर बालुवाटार पुर्याए । त्यहाँ सवा घण्टा राखे । चिया खुवाए । प्रधानमन्त्रीले भेट्न होइन थुन्न बालुवाटार झिकाएका रहेछन् ।’ 

 

कोइरालाका अनुसार बालुवाटारमा कुलपतिका सचिवालयका सहसचिव विनोद कुँवर आएर मलाई नमस्कार गर्नुभयो । उहाँसँग मेरो टेलिफोनमा कुराकानी भइरहन्थ्यो । कुँवरले मलाई घटनाकै दिन कुलपतिसँग सम्पर्क गर्नुहोला भन्नु भएको थियो । उहाँ आफैले मलाई फोन गर्दा मेरो मोबाइल स्वीच अफ भएको बताउनु भयो । तर उहाँले फोन गरेको भनेको  दिन मेरो डेढ घण्टामात्रै मोबाइल अफ थियो । पाँच बजेको उडान छ, खबर आयो १ बजे । समय कम भयो, अनि मलाई गाह्रो पनि भयो । 

 

उपकुलपति कोइरालाका अनुसार क्यानडा जानका लागि नौ दिन अघि नै निवेदन दर्ता भइसकेको थियो । रित नपुगेको खबर कुलपतिको कार्यालयबाट प्राप्त भएको थिएन । विदेश नजानू भन्ने कुनै निर्देशन पनि दिइएन । विमानस्थल पुग्नुअघि कुलपतिको कार्यालय शान्त भएर बस्यो । विदा अस्वीकृत भयो भन्ने खबर पठाएको भए पनि हुने थियो । इमेल, टेलिफोन, व्यक्तिबाट पनि मलाई निर्देशन दिन सक्नु हुन्थ्यो ।  भाग्न लागेको जघन्य अपराध गरेको व्यक्ति जसरी मलाई व्यवहार गरियो । त्यो मेरो लागि पीडादायक भयो ।  

 

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि कोइरालाको दुई वटा विदेश भ्रमण रोकिएको उनले जानकारी दिए । 

 

प्रचलित नियमविपरीत आफू जान नचाहेको तर राज्यले अपमानजनक ढंगले व्यवहार गरेको उपकुलपति कोइरालाको भनाइ छ । उनले भने, ‘मलाई विमानस्थलमै तपाईको विदा अस्वीकृत भएको छ भनेर कसैलाई एउटा सानो चिरकटो पठाइदिएको भए पनि म फर्किन्थेँ । तर अपराधीलाई जसरी प्रहरी लगाएर एउटा उपकुलपतिलाई नियन्त्रणमा राख्ने काम भयो । प्रधानमन्त्रीको यो रवैया सुहाउँदो भएन । प्रधानमन्त्रीको यो शैली त हिटलरी भयो ।’ 
 

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक कुलप्रसाद कोइराला

विशेष