देश राजनीति

डा. केसीलार्इ बल प्रयोग गरेर भएपनि काठमाडाैं ल्याउन्छाै :शिक्षा मन्त्री पोखरेल 

डा. केसीलार्इ बल प्रयोग गरेर भएपनि काठमाडाैं ल्याउन्छाै :शिक्षा मन्त्री पोखरेल 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीका माग सरकारले सम्बोधन गर्ने बताएका छन् । 

 

मन्त्री पोखरेलले डा. गोविन्द केसीका मागका सम्बन्धमा संसद् दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उनलाई काठमाडौंमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराए । 

 

शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४ वितरण समारोहमा मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उनलाई काठमाडौं ल्याउनका लागि टोली पठाउन लागिएकाले उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताए । 

 

उनले कार्यक्रममा धेरै समय खर्चेर भने, ‘म दोहार्याएर भन्छु । डा. केसीको अवस्था दिन प्रतिदिन कमजोर बनिरहेको छ । यसरी अटेरी भएर अनशन बसिरहे सरकारले बल प्रयोग गर्‍यो नभन्नुहोला । हामी उहाँलाई सम्मान गर्छाैं । उहाँका माग जायज पनि छन् । तर, त्यसरी अनशन बसेर समस्याको समाधान हुँदैन । आज पनि हामीले स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएका छौं । हामीले पठाएका चिकित्सक टोलीलाई उहाँले रोक्न खोज्नु भएको छ । यो उहाँको बाल हठ हो ।’

 

‘यो समय अनशन बस्न उपयुक्त होइन । देशमा विपत्ति आइलागेको छ । हामीले जनताको उपचार गर्न चिकित्सक पठाउने कि एक व्यक्तिको लागि पठाउने । मेडिकल एसोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा मानिरहेको छैन’,  उनले भने । 

‘सन्तुलित र सही समाचार लेख्नु पर्छ, खबरदारी गर्नु नछाड्नुस,’ उनले भने , ‘अभिव्यक्ति स्वतन्त्रता भनेको उदण्डता, अराजकता होइन ।’ उनले चिकित्सा शिक्षा विधेयकबारे प्रकाशित समाचारहरु प्रति असन्तुष्टि जनाए ।

 

समारोहमा यसवर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रुपन्देहीका पत्रकार कृष्ण मल्ललाई प्रदान गरिएको छ । उनले ५१ हजार राशीको पुरस्कार पाएका हुन् । ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४’ प्रदान पनि गरिएको थियो ।

 

उनले आफू पनि माथेमा प्रतिवेदनमा सहमत रहेको तरसंसद् दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गराैं भन्दा डा. केसीले नमानेकाे बताए । 

 

मन्त्री पोखरेल डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने र त्यसबेला बल प्रयोग भयो भनेर नलेख्न पत्रकारहरूलाई आग्रह गरे ।

गिरिराजमणि पोखरेल डा. गोविन्द केसी

विशेष