समाज देश

डा. केसीसँग वार्ताको वातावरण बनाउँदै सरकार

डा. केसीसँग वार्ताको वातावरण बनाउँदै सरकार

काठमाडौं । १४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो ।

 

केसीको माग सम्बोधन गर्ने सवालमा सरकारी पक्षबाट वार्ताको वातावरण बनाउन शुक्रबार दिनभरजसो प्रयास भएको केसीका सहयोगीहरूले बताए ।

 

सरकारी पक्षले गरेको प्रयासबारे डा. केसीलाई पनि जानकारी गराइएको छ । सरकार वार्ताका लागि अग्रसर देखिएको केसीपक्षीय डा. अभिषेक सिंहले बताए ।


दुवै पक्ष अलमलमा
सरकार र डा. केसी पक्ष वार्ताका विषयमा टुंगो लगाएर काठमाडौं आउने कि काठमाडौं आएपछि मात्रै टुंगो लगाउने भन्ने अलमलमा छन् । सरकार केसीलाई काठमाडौं ल्याएर स्वास्थ्य सहज बनाएपछि वार्ताको प्रक्रिया सुरु गर्ने सुरमा छ ।

 

तर, केसी पक्ष भने वार्ताबारे निश्चित भइसकेपछिमात्रै काठमाडौं ल्याउने अडानमा छ । प्रधानमन्त्रीले केसीसँग वार्ताको वातावरण मिलाउन जिम्मा दिएका एक नेताले चरणबद्ध रुपमा प्रयास गरिरहेका छन् ।


स्वास्थ्य जाँच गर्न अस्वीकार
डा. गोविन्द केसीले स्वास्थ्य जाँच गर्न अस्विकार गरेका छन् । आफूले औपचारिक वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि गम्भीर चासो नदेखाएको भन्दै आक्रोशित भएका हुन् । उनले शुक्रबार स्वास्थ्य परीक्षण गर्न गएका चिकित्सकहरुलाई स्वास्थ्य जाँच नगर्न भने ।

 

‘मलाइ मरे मरोस भनेर सरकारले सोचेको रहेछ । आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार गराउदिनँ,’ केसीले भने ।

 

तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उनले बताए । सास फेर्न गार्हो हुने, बोल्दा सास बढ्ने, उठेर बस्न गार्हो हुने समस्या देखिएका केसीलाई नाकबाट कृतिम अक्सिजन दिइएको डा. पुजन रोकायाले जानकारी दिए । १४ दिनमा केसीको तौल ९ केजी घटिसकेको उनले बताए । नयाँपत्रिकाबाट

डा. गोविन्द केसी सरकार

विशेष