मुख्य समाचार समाज

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका १ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । 

 

शहरी विकास मन्त्रालयले विनियोजन गरेको १६ करोड भन्दा बढीको बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।

 

  निर्माणकर्ताले विद्युतीय उपकरण राख्ने भवन, आवश्यक सम्पूर्ण उपकरण र पार्किङसमेत निर्माण गर्नुपर्ने हुन्छ । घिमिरेका अनुसार दुई वटा विद्युतीय शव दाह उपकरण जडान गरिनेछ । एकै पटकमा दुई वटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेले बताए ।

 

  बढीमा एक घण्टामा एउटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेको भनाइ छ । अत्याधुनिक उपकरण हुने भएकाले वातावरणीय प्रदूषण नहुने उनले बताए । राजधानी बाहिरको पहिलो विद्युतीय शव दाह देवघाटमा निर्माण गर्न लागिएको हो ।  

 

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले महानगरपालिकाको विशेष पहलमा विद्युतीय शव दाहस्थल निर्माण गर्न लागिएको जानकारी दिए । दैनिक ३५ वटासम्म शव देवघाटमा ल्याइने गरिन्छ । जसका लागि आवश्यक पर्ने दाउरा पुर्‍याउन कठिन भइरहेको अवस्थामा विद्युतीय शव दाहस्थल निर्माणसँगै दाउरा र प्रदूषणको समस्या हट्ने श्रेष्ठको भनाइ छ ।


  देवघाटमा मानिसको अन्त्येष्टि गरिएको दाउरा र थोत्रा कपडाले नारायणी नदी प्रदूषित बन्दै आएको छ । जसका कारण स्नान गर्न आउने भक्तजनहरु र जलचर प्राणी प्रभावित हुँदै आएका छन् । 

चितवन तीर्थस्थल देवघाट शव दाहस्थल नारायणी नदी

विशेष