मुख्य समाचार राजनीति

कांग्रेसमा किचलोः दुवै गुटको छुट्टै भेला

कांग्रेसमा किचलोः दुवै गुटको छुट्टै भेला

काठमाडौं  । मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्नै लागे पनि कांग्रेसमा प्रदेश समिति बन्न सकेको छैन । पार्टीभित्रका गुटहरूको टकरावका कारण नेतृत्वले विधानबमोजिम प्रदेश समिति बनाउन नसकेको हो ।

 

कांग्रेस विधानको दफा १२ मा ‘नयाँ संविधान घोषणा भएपछि संविधानले व्यवस्था गरेका प्रदेशभित्र रहेका महाधिवेशन प्रतिनिधिको प्रदेश अधिवेशन हुने’ व्यवस्था छ ।

 

सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वका दुई गुटबीच अधिवेशन गर्ने कि तदर्थ समिति बनाउने भन्नेमा विवाद छ ।

 

आफू विरोधी समूह सशक्त भइरहेका बेला देउवा प्रदेश अधिवेशन गराउने पक्षमा छैनन् । भ्रातृ संस्थाको निर्वाचनमा पराजित भएयता देउवा अधिवेशन गराउन अनिच्छुक छन् । उनी आफ्नो समूहको वर्चस्व कायम रहने गरी तदर्थ समिति बनाउने सुरमा छन् । केहीअघि हेटौंडामा भएको जिल्ला सभापति भेलामा समेत देउवाले तदर्थ समिति बनाउन पौडेलसँग प्रस्ताव राखेका थिए ।

 

गत महाधिवेशनमा देउवा पक्षबाट महामन्त्री उम्मेदवार भएका तर पछिल्लो समय देउवाविरोधी खेमामा पुगेका अर्जुननरसिंह केसीका अनुसार संस्थापन पक्षले ४ र इतर पक्षले ३ प्रदेशको संयोजक पाउने गरी भागबन्डाको प्रस्ताव देउवाले गरेका थिए । यो प्रस्तावलाई पौडेल–सिटौला पक्षले मानेको छैन । प्रदेश अधिवेशनमा जाँदा आफू झनै कमजोर हुन सक्ने ठानेर देउवाले भने तदर्थ समिति गठनमा जोड दिँदै आएका छन् ।

 

देउवाको यो प्रस्तावमा उनीनिकट सबै नेताको एक मत छैन । उपसभापति विमलेन्द्र निधि प्रदेश अधिवेशनको सन्दर्भ यतिबेला उठदै नउठेको दाबी गर्छन् । अर्का नेता रमेश लेखक विधानअनुसार अधिवेशनबाटै प्रदेश समिति बनाउनुपर्ने पक्षमा छन् । ‘तदर्थ समिति बनाउने हो भने पहिला विधानको व्यवस्था संशोधन हुनुपर्छ, होइन भने अधिवेशनबाट प्रदेश समिति चयन गर्नुपर्छ,’ लेखकले भने ।


दुवै गुटको छुट्टै भेला


देउवा १४ औं महाधिवेशनसम्म पार्टीभित्र वर्चस्व यथावत् राखेर पुन: सभापति बन्ने योजनामा छन् । यसैले सिंगो पार्टीको सभापति भए पनि उनी आफ्नो गुटको भेला बोलाएर सबैलाई गोलबन्द गर्ने कसरतमा छन् । सोमबार पनि देउवाले आफूपक्षीयको भेला गरे ।

 

संस्थापनइतर पक्ष भने १४ औं महाधिवेशनअघि नै देउवालाई कमजोर बनाउने कसरतमा छ । प्रदेशसहित तल्ला निकाय र भ्रातृ तथा शुभेच्छक संस्थामा देउवाको वर्चस्व खुम्च्याउन सके १४ औं महाधिवेशनमा नेतृत्व हत्याउन सकिने उक्त पक्षको आकलन छ ।

 

देउवाले आफ्नो पक्षको भेला बोलाएलगत्तै सोमबारै पौडेल–सिटौला समूहले छुट्टै भेला गर्‍यो । नेता केसीका अनुसार भेलामा प्रदेश अधिवेशन र म्याद सकिएका आधा दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनबारे छलफल भयो । ट्रेड युनियन कांग्रेस, शिक्षक संघ र कर्मचारी युनियनमा पकड गुमेपछि देउवाले नेविसंघलगायत अन्य भ्रातृसंस्थाको अधिवेशन गराउन रुचि देखाएका छैनन् । कान्तिपुरबाट

संघीय संरचना नेपाली काँग्रेस

विशेष