राजनीति

विनानिष्कर्ष टुंगियो डा. केसी र सरकारी टोलीबीचको वार्ता

विनानिष्कर्ष टुंगियो डा. केसी र सरकारी टोलीबीचको वार्ता

काठमाडौं ।  जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता आज पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन ।

 

 वार्तामा सरकारी प्रतिनिधिले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुवै पक्ष विच आआफ्ना अडानमा रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो । 

 

 वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् भने डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन्। 

 

तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा। केसी गत असार १६ गतेदेखि जुम्ला पुगेर १५औँ पटक अनसन बसिरहेका छन्।

 

 अनशनको १८ औँ दिन सम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइदै आइएको छ। 

 

यसैबीच, आज पनि रेजिडेन्ट डाक्टर एसोसिएसनले डा. केसीको माग पूरा गरी जीवन रक्षा गर भन्दै माइतीघरमा १ घण्टा धर्ना दिएका छन् । एसोएसिएनका अध्यक्ष डा. सुमित पाण्डेले सरकार किन अझै गम्भिर भएको छैन ? भन्दै अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा हरेक दिन २ घण्टा दैनिक सेवा रोकेको र यसरी नै सरकार गम्भिर नहुने हो भन्ने देशैभरका चिकित्सक आन्दोलनमा उत्रिन्न बाध्य हुने चेतावनी दिए ।


माग सम्बोधन नभए देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

नेपाल मेडिकल एसोसिएसनले साउन ३ गते भित्र डा. केसीका माग सम्बोधन नहुने हो भने देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । 
एसोसिएसनका महासचिव डा. लोचन कार्कीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले डा. के.सी.को जीवनरक्षाका लागि कुनै चासो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थितिप्रति नेपाल चिकित्सक संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।


 
एसोसिएसनका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिको पाठ यसप्रकारको छ : ‘असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनशनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई उहाँहरूको पार्टी कार्यालय तथा घरदैलोमा भेटी जीवन रक्षाको निम्ति अपिल गर्दासमेत नेपाल सरकारले डा. के.सी.को जीवनरक्षाका लागि कुनै चासो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थितिप्रति नेपाल चिकित्सक संघ गम्भीर चिन्ता व्यक्त गर्दै गर्दछ ।’

 

‘आमरण अनशनको १७ औं दिनसम्म नेपाल सरकारले गम्भीरता प्रदर्शन नगर्नु, जीवन रक्षाका लागि कुनै पनि कदम अगाडि नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकले देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भीर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ता टोली बनाई डा. के.सी.को जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।’

 

‘अन्यथा, मिति २०७५ साउन ३ गते बिहीबार बिहानैदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएकोले सोअनुुसार गर्नू गराउँनू हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरू एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू एवं स्वास्थ्यसंस्था आबद्ध कर्मचारीहरूमा यसै विज्ञप्तिमार्फत हार्दिक अपिल गरिन्छ ।

 

देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकाले यसबाट आम सर्वसाधारणहरूमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ । डा. लोचन कार्की, महासचिव ।’

डा. गोविन्द केसी शिक्षा मन्त्रालय

विशेष