पाकिस्तानमा नागरिक प्रशासन सन्देहास्पद छ : विश्लेषक सुवेदी (भिडियोसहित)
काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक अरुणकुमार सुवेदीले यसपटक दक्षिण एसियाली मुलुक पाकिस्तानमा आगामी जुलाई २५ तारिखका दिन हुन गइरहेको आम चुनावसम्बन्धी चिरफार गर्ने प्रयत्न गरेका छन् ।
विश्लेषक सुवेदीले नेपाल आजको नियमित स्तम्भ कुरा खस्रा मीठासँग अन्तर्वार्ता दिँदै भने, ‘पाकिस्तानमा जुन वातावरणमा आम चुनाव हुँदै छ र, आम निर्वाचनपछि त्यहाँ नागरिक प्रशासन हुन्छ कि हुँदैन त्यो पनि सन्देहास्पदै छ ।
यसले पाकिस्तानलाई स्थायित्व दिँदैन, दिने स्थिति छैन । पाकिस्तानको जन्म नै त्यसरी भयो कि पाकिस्तानलाई स्थायित्व ग्रहण गर्नका लागि या त अमेरिकन र साउदी अरेबिया, साउदी अरेबिया पछि आएर भयो, भनेको हुबहु मानेर त्यहाँको मिलिटरीले शासन दिनु पर्छ । होइन भने जनप्रतिनिधिको आफ्ना वाध्यता हुन्छ, आफ्नो सोच हुन्छ, काम गर्ने आफ्नै फिलोसफी हुन्छ ।
त्यसअनुसार आगाडि बढ्ने बित्तिकै त्यहाँको प्रजातन्त्र अस्थिरै रह्यो, नागरिक प्रशासन अस्थिरै रह्यो । त्यो स्थिति देखियो, अहिले पनि स्थिरतातर्फ जाँदैन् ।’
पाकिस्तानमा गत निर्वाचनमा बहुमत लिएर आएका पाकिस्तान मुस्लिम लिग नेता नवाज सरिफ र उनकी छोरीलाई पनामा पेपरमा जेल पठाएर समाप्त पारिसकेको अस्थिरताको संकेत भएको उनले टिप्पणी गरे ।
उनले पाकिस्तानमा अन्य राजनीतिक पार्टीका नेता पनि बलिया नदेखिएको र पश्चिमा मिडियाले प्रचारित सेलिब्रिटी एवं पूर्वक्रिक्रेटर इमरान खान पनि राजनीतिक महत्वाकांक्षा भएको तर राजनीतिक समझ नभएको व्यक्तिलाई किन ल्याउन खोजिएको छ भन्ने प्रकरण बुझ्न जरुरी भएको बताए ।
पाकिस्तानको आन्तरिक राजनीतिक अवस्थाको विश्लेषण गर्दै लेखक सुवेदीले भने, ‘पाकिस्तानको उद्भवपछिको त्यहाँका नेताहरू नियतिको इतिहास, पाकिस्तानको अवस्थिति छ, जबसम्म भारत र इरानको बीचमा पाकिस्तान छ, भारत, इरान, साउदी अरेयिबा र युनाइटेड अरब इमिरेट्सको बीचमा फारसको खाडी छ, फारसको खाडी र स्ट्रेट अफ हर्मुजको भूराजनीतिक महत्व अनि भारत र इरानको अन्तर्राष्ट्रिय राजनीतिमा महत्व त्यो दुईटा बुझ्नु पर्छ र तिनै लाई नै मध्यनजर गरेर पाकिस्तानको राजनीति विकसित भएको छ । भारतसम्बन्धी सुरुदेखिको ब्रिटिशहरूको नीति यी कुराहरू नबुझिकन पाकिस्तानको राजनीतिक अस्थिरता बुझ्न सकिँदैन्, किनभने पाकिस्तानको वर्तमान राजनीति इतिहासको मालासित जोडिएको छ ।’
उनले पाकिस्तानको अस्थिरतासँग सँगै नेपालको पनि अस्थिरता पनि जोडिँदै गएको बताए ।
उनले पाकिस्तानको नागरिक सरकारले जुन जुन बेला भारतसँग सम्बन्ध सुधार्ने प्रयत्न गर्छ त्यो त्यो बेला नागरिक पार्टी सिकार भएको दृष्टान्त प्रस्तुत गरे ।
उनले पाकिस्तानमा सैनिक स्क्रिप्टभन्दा बाहिर जान त्यहाँको न्यायालयलाई पनि धेरै गाह्रो स्थिति छ भन्ने तथ्य औंल्याउँदै भने, ‘पाकिस्तानमा नागरिक प्रशासन भनेको शृंगारिक (डेकोरेटिभ) हो । पाकिस्तानले भारत र इरानको चिरन्तर विरोध गरेर टिक्न सक्दैन ।’
विश्लेषक सुवेदीले पाकिस्तानमा अहिले जुन आम निर्वाचनको कोरियोग्राफी र स्क्रिप्ट राइटिङ भइराखेको छ, त्यो नै पाकिस्तानमा राजनीतिक अस्थिरता निर्माण गरेर आइएसआई र सेनाको पकड अरू बढी बनाउने र त्यो मार्फत अन्तर्राष्ट्रिय शक्तिको पकड स्थापित गर्ने सिद्धान्तमा आधारित
भएको बताए ।