भिडियो राजनीति

साउन १५ भित्र प्रदेश ३ को राजधानी तोकिने छ : मन्त्री स्थापित (भिडियोसहित)

साउन १५ भित्र प्रदेश ३ को राजधानी तोकिने छ : मन्त्री स्थापित (भिडियोसहित)

काठमाडौं । प्रदेश नं. ३ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री केशव स्थापितले जनताको असीमित आकांक्षा र आग्रहलाई अवसर र चुनौतिको रूपमा लिएर विश्वास आर्जन गर्न लाग्नुपर्ने बताएका छन् । 


नेपाल आजसँग कुराकानी गर्दै मन्त्री स्थापितले प्रदेश नं. ३ को सरकारले जनताले अनुभूति गर्न सक्ने गरी आगामी दुई महिनाभित्र परिणाममुखी काम गर्न लागेको पनि बताए । 


उनले संघीयता कार्यान्वयनमा हामी संक्रमण कालबाट गुज्रिरहेकाले सरकारले जनताको पक्षमा काम गर्दै गयो भने संघीयताविरोधीहरू आफैँ पाखा लाग्ने बताए । 


मन्त्री स्थापितले प्रदेश नं ३ सरकारले निकट भविष्यमा मास ट्रान्जिट, खानेपानी, स्वास्थ्यलगायत जनमुखी कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै भने, ‘सरकारले चार सयभन्दा बढी जनकल्याणकारी योजना छिट्टै घोषणा गर्दैछ । त्यो योजना कार्यान्वयन भएपछि प्रदेश सरकार क्रियाशील रहेको अनभूत गर्न पाउनेछन् ।’


उनले सरकारले पूर्ण बजेट ल्याउन नसकिरहेको अवस्थामा पनि केन्द्र सरकारले पहिले तयार पारिसकेको योजनाको डिपिआरअन्तर्गत काम अगाडि बढाइरहेको र सरकारले कतिपय इन्जिनियरिङ परामर्श कम्पनीलाई स्वयंसेवाको रूपमा राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरिरहेको उल्लेख गरे ।   
उनले आगामी पाँच वर्षभित्र मरिन र कमलाखोँच जस्ता क्षेत्रमा काठमाडौं उपत्यकाभन्दा ठूला सहर बनाउन लागेको त्यो औद्योगिक र आइटीको सहर हुने बताए ।


मन्त्री स्थापितले दोलखाको सैलुङ र कालिञ्चोक क्षेत्रको विकासका लागि केबुलकार र विमानस्थल बनाउने योजना थालिसकेको बताउँदै उनले त्यो क्षेत्रमा उक्त योजना कार्यान्वयनमा आयो भने स्थानीय जनताको आय आर्जनमा नाटकीय परिवर्तन आउने उल्लेख गरे । 
मन्त्री स्थापितले पर्यटकीय प्रवर्धन गर्न पूर्वाधारको विकास गर्न प्रदेश सरकारले निर्माण कम्पनी खडा गरेर असीमित विकास निर्माणको काम गर्न लागिरहेको जानकारी दिए । 


उनले पूर्वाधार, विकास र निर्माणका लागि खरिद ऐनमा परिमार्जन गरी स्थानीय जनताको सहभागितामा काम गर्न लागिपरिरहेको जानकारी दिँदै भने, ‘राम्रो काम गर्ने ठेकेदारलाई १ वर्ष नभई ५ वर्षसम्म ठेक्का दिई विकासका कामलाई स्थायित्व दिँदैछौं ।’


मन्त्री स्थापितले जनतालाई नकारात्मक विचारबाट सकारात्मकतातर्फ डो¥याउन लागिरहेको र बनेपाको जनागालमा नौ सय मिटर लामो काठे पुल बनाएर हलिउड र बलिउडजस्तै प्राकृतिक रूपमा इलिफेन्ट जस्तो देखिने इलिफेन्टउडको पूर्वाधार बनाउन २ करोड रुपैयाँ विनियोजन गरेको र त्यहाँ संसारका सिनेकर्मीहरू आउन तयार रहेको बताए । 


‘चितवनको मेघौलीलाई भारत र चीनबीच व्यापार केन्द्र बनाउन ५ करोड रुपैयाँ अध्ययनका लागि विनियोजन गरिसकेको र नारायणी नदीमा ड्रोन फ्लाईका लागि एकीकृत वस्ती विकासका लागि काम गरिरहेको छ । मुखले मात्र स्मार्ट सहर भनेर होइन काम गरेर देखाउन अलि समय लाग्ने हुनाले छिट्टै राजनीतिक निर्णय गरेर ३ अर्ब रुपैयाँबराबरको डिपिआर गरिसकेका छौं । नौ महिनापछि यो देशमा गज्जब हुन लागेको भन्ने अनुभूति गर्न सकिन्छ’, उनको टिप्पणी थियो । 


मन्त्री स्थापितले प्रदेश नं. ३ का जनताले १ वर्षभित्र विकास निर्माणको काम भएको देखेर जनतालाई भित्रबाट काउकुटी लाग्न थाल्ने छ त्यो मात्र होइन गजब भइरहेको छ नाचुँ नाचुँ लाग्न थालेर जनता आफैँले भन्न थाल्न छन् ‘वाह वाह’ यो, त्यो काम हुँदैछ भनेर । 


मन्त्री स्थापितले काठमाडौं महानगरपालिकामा किन काम हुन सकिरहेको छैन भनेर आफूलाई पनि अचम्म लागिरहेको बताउँदै उनले भने, ‘फोहोर व्यवस्थापनमा म आफैँ सक्रिय भएर छोटो अवधिमा काम गर्न सुरु गरिसकेका छौं । अरूको आलोचना नगरौँ ।’ 


उनले प्रदेश नं. ३ को राजधानी साउन १५ गतेभित्र राजधानी मुकाम तोकिने कार्य हुने दाबी गर्दै भने, ‘द्रूतगतिमा कानुन बनाउने काममा प्रदेश सरकार लागिपरेको छ ।’

केशव स्थापित प्रदेश ३

विशेष