मुख्य समाचार समाज देश

प्रदर्शन निस्तेज पार्न ‘वाटर क्यानन’ किन्दै प्रहरी

प्रदर्शन निस्तेज पार्न ‘वाटर क्यानन’ किन्दै प्रहरी

काठमाडौं । भीड नियन्त्रणमा खटिने प्रहरीमाथि बारम्बार एउटै प्रश्न तेर्सिन्छ— प्रहरीले संयम नअपनाउँदा अत्यधिक बल प्रयोग भयो। उच्छृङ्खल प्रदर्शनकारी र निषेधित घेरा तोड्न नदिन खटिएका प्रहरीबीच हुने मुठभेडका कारण दुवैतर्फ घाइते हुँदै आएका छन्।

 

स्थानीय प्रशासन ऐनमा भएको व्यवस्था पनि अहिलेसम्म पूरा हुन सकेको छैन। उक्त ऐनले पानीको फोहरा लगाएर भीड नियन्त्रण गर्ने व्यवस्था गरेको छ। प्रहरीसँग पानीको फोहरा फाल्ने ‘वाटर क्यानन’ गाडीको अभावले ऐनमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको हो।

 

कांग्रेस भ्रातृसंगठन नेपाल तरुण दलले शनिबार गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नुपर्‍यो। भीड नियन्त्रणमा उपयोगी पानीको फोहरा फाल्ने गाडी वाटर क्यानन तैनाथ गरिए पनि भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले त्यसको प्रयोग गर्न सकेन।

 

कारण प्रहरीसँग एउटै मात्र वाटर क्यानन गाडी थियो। भीड तितरबितर पार्न आवश्यक क्यानन मेसिन अभाव भएपछि प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउको फुट्यो। प्रदर्शनकारीलाई रोक्न नसक्दा उनीहरूले प्रहार गरेको ढुंगाले लागेर प्रहरी कर्मचारीसमेत घाइते हुन पुगे।

भीड तितरबितर पार्न आवश्यक क्यानन मेसिन अभाव भएपछि शनिबार प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउको फुट्यो।

प्रहरी प्रधान कार्यालयसँग हाल एउटा मात्रै वाटर क्यानन गाडी छ। मुख्यालयले त्यही अभाव पूरा गर्न थप ६ वटा वाटर क्यानन गाडी खरिद गर्ने तयारी गरेको छ। २९ करोड २० लाख रुपैयाँ लागतमा खरिद गर्न लागिएको क्यानन मेसिन सबै प्रदेशमा तयारी अवस्थामा राख्ने मुख्यालयको तयारी छ। चार वटा क्यानन गाडी किन्न बोलपत्र आह्वान भइसकेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए। 

 

बाँकी दुईका लागि अर्थ मन्त्रालयबाट नौ करोड १० लाख रुपैयाँ निकासा भइसकेको उनले बताए। ‘भीड नियन्त्रण गर्न क्यानन गाडी अति उपयोगी हो। हामीले चार वटा किनिसकेपछि थप खरिदका लागि प्रक्रिया अघि बढाइसक्यौं’, उनले भने। एसएसपी बल प्रयोग गर्दा बेलाबेलामा मानवअधिकारका विषयमा पनि प्रश्न उठ्दै आएकाले खरिद प्रक्रिया पूरा भएर गाडी आइपुगिसकेपछि उक्त समस्या समाधान हुने उनको भनाइ छ।

 

 बोलपत्र आह्वान भइसकेकाले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम दररेट राख्ने कम्पनीसँग खरिद सम्झौता गरिने उनले बताए। प्रदर्शनकारीको भीडको अवस्था हेरेर वाटर क्यानन गाडी पहिल्यै योजनाअनुसार तयारी अवस्थामा राख्न सकिए भीड नियन्त्रण गर्दा घाइतेको संख्या न्यून हुने एसएसपी क्षेत्रीको भनाइ छ। - अन्नपूर्णपाेष्ट दैनिकबाट ।

प्रहरी भीड नियन्त्रण बल प्रयोग स्थानीय प्रशासन ऐन

विशेष