मुख्य समाचार राजनीति

ओली-प्रचण्ड झन् आक्रामक किन भए ?

ओली-प्रचण्ड झन् आक्रामक किन भए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड डा. गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए ।

 

‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं, आउनुस् वार्ता गरौं,’ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ ।’ उनले चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार रहेको तर हठ मान्य नहुने ओलीको भनाइ थियो ।

 

केसीको मागअनुसारै चिकित्सा शिक्षा आयोग बनाउन तयार रहेको बताउँदै उनले त्यसको नेतृत्व गर्नसमेत केसीलाई आग्रह गरे । ‘मागअनुसार आयोगको अध्यक्ष बन्नु न त भन्दा पनि मान्नुहुन्न,’ उनले भने । स्वास्थ्य परीक्षण गर्न नदिएर आफैंविरुद्ध मानव अधिकार हनन गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।

 

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सडक आन्दोलनका क्रममा दिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘ठूल्ठूला न्यायिक निकायमा बसेकाहरू निषेधाज्ञा तोड्न किन पाइँदैन भन्दै हिँडेका छन्,’ उनले भने, ‘दुई-चार कक्षा पढेको छैन, त्यसले के जान्दछ कानुन भन्छन्, मसँग सर्टिफिकेट हेर्न त आउनुभएको छैन ।’ उनले सडक आन्दोलन र अनशनलाई पनि फुर्सदका बेला गरेको क्रियाकलाप भने ।

 

प्रधानमन्त्री बोल्नुअघि नेकपा अध्यक्ष दाहालले पनि विपक्षी कांग्रेसले लासमाथि राजनीति गर्न खोजेको आरोप लगाए । ‘उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो तर अर्को पक्ष जीवनरक्षाको पक्षमा छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागतले सायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि ?’ दाहालले भने, ‘यो के विडम्बना हो ? वार्ता टोली बनाएको छ, सरकारले जीवनरक्षा गर्न लागेको छ अनि सरकारैमाथि, नेताहरूमाथि आरोप नै आरोप, यो के चिज हो ?’

 

लोकतान्त्रिक भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनशन बसेको उल्लेख गर्दै उनले त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे । ‘अहिले त गोविन्द केसी समाजले पचाइसकेको छ उहाँ बसिराख्नु हुन्छ । उहाँसँग वार्ता हुन्छ, सहमति हुन्छ । त्यो पनि सामान्य प्रक्रिया हो, यसमा अनौठौ मान्नु हुँदैन,’ दाहालले भने, ‘केसीसँग वार्ता गर्न तयार छौं । कति लचिलो हुनुपर्ने हुन्छौं, जीवनरक्षाप्रति संवेदनशील छौं । तर, यहाँ कांग्रेसले खोजेको चाहिँ के हो ? डा. केसीमार्फत आफ्नो राजनीति गर्न खोजेको हो ? के कांग्रेसको अब अरू कुनै एजेन्डा छैन ? हो भने कांग्रेस अब सकियो ।’ कान्तिपुरमा समाचार छ ।

केपी शर्मा ओली डा. गोविन्द केसी

विशेष