मुख्य समाचार राजनीति

राष्ट्रियसभा बैठकमा चर्काचर्की : अध्यक्ष नियमावली सम्झाउने, सांसद दोहोरीमा व्यस्त

राष्ट्रियसभा बैठकमा चर्काचर्की : अध्यक्ष नियमावली सम्झाउने, सांसद दोहोरीमा व्यस्त

काठमाडौं ।  राष्ट्रियसभाको बैठकमा नियमावलीमा नियम अनुसार समय लिएरै बोल्ने व्यवस्था गरिएको हुन्छ। तर सोमबारको बैठकमा सांसदहरुले उक्त व्यवस्थालाई वेवास्ता गर्दै आ–आफैं माइक लिएर बोल्नमा व्यस्त भए।

 

राष्ट्रियसभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर अवरोध जनाए। प्रतिपक्षका सांसदहरु उठेपछि सत्तापक्षका सांसदहरु पनि उठे। दुवै पक्ष उठेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बस्न आग्रह गरे।

 

सबैलाई बोल्न समय पालैपालो उपलब्ध हुने भन्दै अध्यक्षले बस्न आग्रह गरेपछि दुवै पक्षका सांसदहरु बसे।

 

तर अध्यक्षले सत्ता पक्षका  सांसद खेमलाल भट्टराईलाई बोल्ने समय उपलब्ध गराए। उनले बोल्नका लागि समय पाएर उठे लगत्तै प्रतिपक्षका सांसदहरुले त्यसलाई मानेनन् र आफ्नो ठाउँबाट उठेर विरोध जनाए। लगत्तै सांसदहरु उनीतर्फ फर्केर एक आपसमा दोहोरी  सवालजवाफ गर्न थाले।

 

प्रतिपक्षका सांसदहरुले आफू खुसी बोल्न थालेपछि भट्टराईले पनि नियमापत्ति गर्न आवश्यक ठानेनन्। बरु प्रतिवादमै उत्रे।

 

बैठकमा सांसदहरुकै बीचमा दोहोरी चलेपछि राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले आफैंले बनाएको नियम पालना गर्न पटक पटक ध्यानाकर्षण गराए। तर उनको आग्रहलाई सांसदहरुले टेरेनन्। एक आपसमा झगडा गर्नमै व्यस्त रहे।

 

सांसदमा दुई पक्षीय चर्काचर्की भएपछि अध्यक्ष तिमल्सिनाले सत्ता पक्षका सांसदहरुलाई आफ्नो स्थानमा बस्न निर्देशन दिए। उनको निर्देशनपछि सत्तापक्षका सांसदहरु बसे तर प्रतिपक्षका सांसदहरु बस्न मानेनन्।

 

प्रतिपक्षका सांसदहरुले बस्न अस्वीकार गरेपछि अध्यक्षले बैठक अवरुद्ध भएको घोषणा गर्दै साउन ९ गतेलाई अर्को बैठक बस्ने जानकारी गराए।

राष्ट्रियसभा प्रतिपक्ष

विशेष