मुख्य समाचार समाज देश

चालु आर्थिक वर्षमा साइकल पार्किङमा समेत कर लगाइने

चालु आर्थिक वर्षमा साइकल पार्किङमा समेत कर लगाइने

वीरगंज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक विधयेकमार्फत साइकल पार्किङमा समेत कर लगाउने भएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ कार्यान्वयनमा विभिन्न किसिमका थप कर लगाउने भएको छ । 

महानगरपालिकाले साइकलमा पनि कर लगाउने भएको छ । एक दिन महानगर क्षेत्रमा साइकल पार्किङ गर्दा अब ५ रुपैयाँ कर तिर्नुपर्छ । घण्टाघरस्थित सार्वजनिक शौचालयमा पिसाब फेरेको ५ र दिसा गरेको १० रुपैया तिर्नुपर्ने व्यवस्था गरिएको छ । 
 
महानगरपालिकाले जग्गाको मूल्याकंन पनि गरेको छ । यसअनुसार महानगरभित्र २० लाख देखि ८ करोड रुपैयाँसम्म प्रतिकट्ठा तोकिएको छ । साविक वीरगंज बजार क्षेत्रका जग्गाको मूल्यांकन महँगो राखिएको छ । र त्यसैगरि थपिएका ११ वटा वडामा मूल्यांकन २० लाखदेखि ३० लाख रुपैयाँको हाराहारीमा छन् । 
 
महानगरपालिकाले साना उद्योगलाई वार्षिक ५ हजार र बहुराष्ट्रिय कम्पनीलाई २ लाख रुपैयाँसम्म लगाउने गरी आर्थिक ऐन तयार गरेको छ। सिनेमा हल, होटल व्यवसाय, जडिबुटी, कबाडी, पशुजन्य समान निकासीमा पनि कर वृद्धि गरिएको छ ।
 
वीरगञ्ज नगरसभाले असार २२ गते पास गरेको आर्थिक ऐन २०७५ अनुसार महानगरले कर बढाएको हो। महानगरले असार १० गते नगरसभा सुरु गरेको थियो। महानगरले चालु आर्थिक वर्ष २०७५र०७६ को लागि ४ अर्ब ९७ करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको छ । त्यसमा ५९ करोड ५३ लाख ६० हजार रुपैयाँ आन्तरिक आयबाट उठाउने लक्ष्य राखेको छ । 
 
महानगरले पार्किङ शुल्क, सवारी साधन प्रवेश, पसल व्यवसाय सञ्चालन, घरेलु तथा साना उद्योग, सवारी दर्ता, घर बहाल कर, व्यवसाय कर ,भूमि कर, सम्पति कर, उद्योग–व्यापार कर, निकासी कर र वातावरण प्रदुषण तथा सडक सुधार कर लगाउने प्रस्ताव गरेको छ । 
 
यसैगरी इन्धन बिक्री कर, नगर क्षेत्र भित्र गरिने प्रचारप्रसार, सूचना प्रविधि, संस्था दर्ता, सिफरिस, नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्युदर्तालगायतको सिफरिसमा कर बढाएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् । 
 
वीरगंज उद्योग वाणिज्य संघले विज्ञयप्ती प्रकाशित गरी महानगरले तोकेको विभिन्न कर तथा दस्तुरको विरोध जनाउँदै करको मापदण्ड तथा दायरा सच्याउन आग्रह गरिसकेको छ । करको दायरा एवं दरमा वृद्धिले सोझै आम उपभोक्तालाई असर गर्ने गरी ल्याइएको व्यवसायी आशोक वैद्य बताउँछन् । शालिमार समूहका निर्देशकसमेत रहेका व्यवसायी वैद्यले कर बढ्दा उपभोक्तालाई त्यसले ठुलो प्रभाव पार्ने बताए । 
 
वीरगंजमा उपभोक्ता हकहित मञ्च र समिति थुप्रै भए पनि महानगरको करको विरोध कसैले गरेका छैनन् । वीरगंज १२ मुर्लीका सन्तोष कुशवाहाले चुनावअघि र चुनावपछि नेताको व्यवहार फेरिएको बताए। उनले पञ्जीकरण सिफारिसमा पनि कर बढाउनु दुखद भएको बताए । 
 

वीरगञ्ज महानगरपालिकाले बढायो कर, आन्तरिक स्रोतका ६० करोड उठाउनु पर्ने भएपछि बढाइयो राजस्वका दर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
 

वीरगञ्ज महानगरपालिका साइकल पार्किङमा समेत कर लगाउने

विशेष