राजनीति

कानुनमन्त्री बन्न दाैडधुप: चारकाे चर्चा तर ढकालकाे बलियाे सम्भावना

कानुनमन्त्री बन्न दाैडधुप: चारकाे चर्चा तर  ढकालकाे बलियाे सम्भावना

काठमाडौं । आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन्। तामाङले राजीनामा दिएसँगै अब नयाँ कानुनमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ। राजनीतिक वृत्तमा पनि विभिन्न समीकरण जोडेर विश्लेषण थालिएको छ।

 

मन्त्रीका छनोटका लागि नेकपाले औपचारिक प्रक्रिया अघि नबढाए पनि तामाङको राजीनामासँगै अनौपचारिक छलफल भने गरेको छ।
यसअघि तत्कालीन एमालेबाट मन्त्रीको पहिलो सूचीमा रहेका भानुभक्त ढकाल, वैकल्पिक सूचीमा रहेका कृष्णभक्त पोखरेल कानुनमन्त्री बन्ने दौडमा छन्। 

 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुलाई निर्वाचनमा पराजित गरेका नारदमुनि राना पनि मन्त्रीको लविङमा छन्। नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि कानुनमन्त्रीमा अघि सारेका वसन्त नेम्वाङ पनि मन्त्रीको दौडमा देखिएका छन्। 
तर, मन्त्रीको दौडमा नेकपा संस्थापन पक्षको बलियो आडमा रहेका ढकाल नै अघि छन्।

 

सोमबार कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन सुझाएसँगै उच्च तहमा ढकाललाई मन्त्री बनाउने विषयमा समेत छलफल भएको नेकपा स्रोतको दाबी छ। पोखरेलको नाम भने उक्त छलफलमा पनि वैकल्पिक रूपमा नै प्रस्तुत भएको छ। 

 

नेकपाभित्र अध्यक्ष प्रचण्ड फ्याक्टरको अहिलेको भूमिका यथावत रहे ढकाल नै मन्त्री हुने करिब निश्चित छ। वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम हो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो। 

 

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो। मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए। 

 

पार्टीको संस्थापन पक्ष र ढकालका नाममा प्रधानमन्त्री समेत सकारात्मक रहेकाले उनको मन्त्रीको दौड बलियो छ। २०७० मा पहिलोपटक संविधानसभा सदस्य बनेका पोखरेल चितवनमा चिनिएका वकिल हुन्। कानुन पृष्ठभूमिबाट आएका पोखरेलले यसअघि संसद्को नीति निर्माणको मूल थलो विधायन समितिमा बसेर काम गरिसकेका छन्। 

 

तत्कालीन एमालेभित्र माधव नेपाल समूहमा रहेका उनी एमालेका चितवन जिल्ला अध्यक्ष पनि हुन्। जिल्ला अध्यक्ष भए पनि पार्टी अध्यक्षसँग भने उनको निकट सम्बन्ध छैन। 

 

कानुनमन्त्री कृष्णभक्त पोखरेल भानुभक्त ढकाल नारदमुनि राना वसन्त नेम्वाङ

विशेष