जलस्रोतको धनी कृषिप्रधान देशमा किसानले सिँचाइका लागि पानी पाउँदैनन् (भिडियोसहित)
काठमाडौं । ‘पूर्वमहासेनानीको डायरी’ र ‘बाटो बिराएको देश’ नामका दुई पुस्तक प्रकाशित गरिसक्नुभएका नेपाली सेनाका पूर्वमहासेनानी पूर्ण ओली मुलुकको आन्तरिक राजनीतिमा पनि गहिरो चासो राख्नु हुन्छ ।
तीन तहको निर्वाचन भएपछि मुलुकले स्थायी सरकार पाएको छ । राजनीतिक स्थीरतातर्फ पनि मुलुकअगाडि बढेको छ । वर्तमान सरकारसँग जनताका आशा र अपेक्षा धेरै छन् । नागरिकले दैनिक भोगिरहेका सास्तीलाई चटक्कै छाडेर सरकार पानीजहाज, रेलको सपना बाँडिरहेकोमा भने ओली सन्तुष्ट छैनन् ।
उनको मतमा पानी जहाज र रेल, मोनोरेल पनि नेपालका लागि आवश्यक छ । तर यसका लागि समय छ । सडकमा उडेको धुलो नियन्त्रण गर्न सकिएको छैन । फोहोरले सहर छोपेको छ । डा. गोविन्द केसी २६ दिनको अनसनमा छन् । तमाम काम छन् जुन तुरुन्तै गरिहाल्नु पर्ने छ । त्यस्ता काम छाडेर भविष्यका सपना अहिले बाँड्न आवश्यक नरहेको उनको तर्क छ ।
जलस्रोतको धनी भएर पनि हामीले जलविद्युतमा विकास गर्न नसकेको, खानेपानीको पनि समस्या रहेको र मूलतः किसानहरुले सिँचाईका लागि पानी नपाएकोमा पूर्वमहासेनानी ओली चिन्तित छन् । कृषिप्रधान देशमा एउटा पनि रासायनिक मल उद्योग नहुनु, किसानले अनुदान नपाउनु, भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति नहुँदा नेपाली किसान मारमा परेको र जमिन बाँझो रहेको ओलीको भनाइ छ ।
हाम्रो मुुलुकले पहिले धान, मकै निर्यात गथ्र्यो । अहिले अमेरिकाबाटसमेत खाद्यन्न किनेर खाने अवस्थामा पुगेका छौं । कोसी, महाकाली आदिमा रहेका सिंँचाई आयोजनाको नियन्त्रण भारतले गर्ने भएकोले नेपाली किसानले भनेको समयमा पानी नपाएको उनले बताए । सिँचाइ नभई व्यवसायिक कृषि सम्भव छैन । कोशी नदीमा अर्को बाँध आवश्यक छ । ओलीको मतमा कोशीमा अर्को बाँध बाँधेर सप्तरी सिराह तिर सिँचाई सुविधा पुर्याउनु पर्छ । किनभने हाम्रो नदी भारतको हातमा छ । हामीलाई चाहिएको बेला भारतले हामीलाई पानी दिँदैन ।
तराईमा मात्रै होइन, सिँचाइ नभएको कारण पहाडतिर पनि खेतिपाती हुन छाडेको छ । अहिले पानी लिफ्ट गरेर पहाडतिर पनि पानी लैजान सकिन्छ । ओली भन्छन्, ‘सरकारले यस्ता कार्यक्रममा ध्यान दियो भने पहाडतिर राम्रो खेतिपाती हुन सक्छ ।’
सरकारले ‘स्प्रिङ वाटर’ निर्यात गर्ने सपना पालेको छ । पूर्वमहासेनानी ओलीको मतमा यो बेकारको कुरा हो । किन त ? उनी भन्छन्, ‘जलस्रोतको धनी देश नेपालमा किसानहरुले खेतीपातीका लागि पानी पाएका छैनन् भने हामीले पानी विदेश निर्यात गर्न सक्छौं ?’
कृषिको जिम्मेवारी पाएका मन्त्रीहरुले गफ दिएर हैरान पारेको उनको मत छ । किसानलाई पेन्सनदेखि किसानले कार चढ्छन् भनेर गफ हान्ने मन्त्रीहरु पनि देखियो । उनी भन्छन्, ‘किसानले पानी पाउँदैनन्, कार कसरी पाउँछन् ?’
डा. गोविन्द केसीको माग सरकारले पूरा गर्नु पर्ने उनको सुझाव छ । नागरिकहरु तोडफोड नगरी, आमहडताल नगरी, हुलहुज्जत नगरी शान्तिपूर्ण रुपमा माइतीघर मण्डलामा प्लेकार्ड बोकेर उभिन्छन् भने सरकारले जनताको त्यो माग सुन्नु पर्छ । दुई तिहाई मत भनेको ठूलो जिम्मेवारी पनि हो । दुई तिहाई मत छ भन्नुको मतलव सबै कुरामा सरकारकै पल्ला भारी हुन्छ भन्ने होइन ।
सरकारले चिकित्सा शिक्षा विधयेक फिर्ता लिएर गोविन्द केसीको माग सम्बोधन गर्नु पर्ने ओलीको सुझाव छ ।