मुख्य समाचार समाज देश

एक करोडभन्दा बढी फिराैती बुझाए पनि फिरेनन् बालक

एक करोडभन्दा बढी फिराैती बुझाए पनि फिरेनन् बालक

जीतपुर  । एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

 

अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।

 

भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो ।

 

ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो ।

 

घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ ।

 

गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते (मंगलबार) अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।

 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको पोखरिया नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ बस्ने रामप्रवेश साह गोढलाई साउन ७ गते पक्राउ गरेपछि अंकित हत्याको रहस्य खुलेको हो । फिरौती रकम माग गर्न प्रयोग गरिएको भारतीय फोन नम्बरको आधारमा साहलाई पक्राउ गरिएको बारा प्रहरीको भनाइ छ ।- अन्नपूर्णपाेष्ट दैनिकबाट ।

अपहरण बारा

विशेष