पतिले छाडेपछि रिक्सा चलाएर गुजारा
सिरहा । मधेसी समुदायमा महिलाले साइकल चलाए पनि धेरैले आश्चर्य मान्छन्। जीविकोपार्जनका लागि त गाउँबाट साइकल चलाएर बजार जाने–आउने महिलाहरू औंलामा गन्ने जति पनि भेट्दैनन्।
त्यही महिलाकै बिचमा सिरहाको लहान नगरपालिका २ सिंगराहीकी २४ वर्षीया सुनिता महतोले लहान बजारमा सिटी रिक्सा चलाएर आफ्नो दुई छोरीसहित आफ्नो पनि गुजारा चलाउँछिन्। उनलाई पतिले अलग गरिदिएको छ। यहाँ बजारमा डेढ सयभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छ त्यसमध्ये उनी रिक्सा चलाउने एक्ली महिला हुन्।
रिक्सा चलाउन बजार आउँदा उनी सधैं आफ्नो एक वर्षीया कान्छी छोरीलाई घरमै छाडेर आउने गर्छिन्। विहान घरमै आफन्तकहाँ छोरीलाई राखेर उनी पति छाडेर गएको पुरानै सिटी रिक्सा लिएर बजार धाउँछिन्। उनको जेठी छोरी काजल पाँच वर्ष र कान्छी करिश्मा एक वर्षकी छिन्।
‘विहान छोरीलाई केही खुवाएर रिक्सा लिएर बजार आउँछु’, उनले भनिन्, ‘दिनभरी रिक्सा चलाएर हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ।’ उनका अनुसार जेठी छोरी पढ्ने उमेरको भइसक्यो तर, पति मेरो नागरिकता र छोरीको जन्मदर्ता लिएर गइसकेकाले पढाउन सकेको छैन। पतिको कुनै अत्तोपत्तो नभएको उनले सुनाइन्।
२०६८ सालमा रौतहटको बबहरी गाउँका सन्तकुमार महतोसँग उनको विवाह भएको थियो। सासु/ससुराले विवादमा पनि गालीगलौज र कुटपिट गर्न थालेपछि उनी आफ्नो पतिसहित लहान आएर बस्न थालिन्। यहाँ सन्तको सासु/ससुराले स्थानीय सहकारीबाट केही ऋण र जग्गा बेचेर उनलाई तीन लाखमा सिटी रिक्सा किनिदिएको थियो। -अन्नपूर्णपाेष्ट दैनिकबाट ।
‘एक वर्षसम्म पतिले नै यो रिक्सा चलायो, ‘महतोले भनिन्, ‘पछि पतिले पनि आमाबुवाको कुरामा लागेर झगडा गरी आफूलाई छाडेर गएदेखि आफैं सिटी रिक्सा चलाउँदै आएको छु।’ आत्मबल भयो भने महिलाले जस्तोसुकै काम गर्न सक्ने उनले बताइन्।
मधेसी समुदाय सुनिता महतो