तीन वडामा एक जना मात्र प्राविधिक
खोटाङ । भूकम्पप्रभावित जिल्लाका स्थानीय तहका प्रत्येक वडामा तीन जना प्राविधिक राख्ने व्यवस्था छ। तर प्राविधिक अभावमा एक जनाले तीन वटा वडासम्म हेर्नुपर्ने अवस्था सिर्जना भएको सरोकारवालाले बताएका छन्।
प्रत्येक वडामा इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियरको दरबन्दी कायम गरिएको छ। ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ३३ जना प्राविधिक हुनुपर्नेमा जम्मा ७ जना मात्रै छन्। कतिपय वडा अत्यन्त विकट ठाउँमा छन्। एउटा वडाबाट अर्कोमा जान दुई दिनसम्म लाग्छ।
हलेसी तुवाचुङको वडा नं ९ (सल्ले), १० (अर्घौले) र ११ (राजापानी) हेर्ने जिम्मा एउटै इन्जिनियर सुनिल यादवले पाएका छन्। ‘मैले तीन वटा वडा भ्याउनुपर्छ, एउटा वडाबाट अर्को वडा जान एक दिन लाग्छ’, उनले भने, ‘कम्तीमा एउटा वडासम्म मात्रै हेर्नुपर्ने भएको भए पनि जेनतेन सकिन्थ्यो, एक्लैले सबै घर हेर्न गाह्रो हुन्छ।’
यादवसमेत दुई महिनाअघि मात्रै आएका हुन्। ‘भूकम्पको एक वर्षपछि नै प्राविधिक पठाएको भए अहिलेसम्म धेरै काम हुन्थ्यो होला, म नै तीन वर्षपछि आएँ’, उनले भने। सबै गाउँमा एक पटक भने पुगेको उनको दाबी छ।
प्राविधिक ढिलो जाँदा खोटाङमा अधिकांश बनेका घर मापदण्डअनुसार छैनन्। प्राविधिक ढिलो पुग्दा मापदण्ड नै थाहा नपाएर पीडितले आफूखुसी घर बनाएको इन्जिनियर यादवले बताए। सल्लेमा १ सय ४९ घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त छन्। यसमध्ये १ सय ४९ ले नै पहिलो किस्ता पाएका छन्। सिफारिस भएका ५८ मध्ये १७ जनाले दोस्रो किस्ता लिएका छन्।
१४ वटा घर मापदण्ड बन्नुअघि नै बनिसकेका छन्। अहिले ७७ वटा घर सल्लेमा बनिरहेका छन्। त्यस्तै अर्घौलेमा ८९ लाभग्राहीमध्ये ८८ जनाले पहिलो किस्ता पाएका छन्। २६ को सिफारिस भएकामध्ये १० घरधुरी दोस्रो किस्ता लिएका छन्। २६ वटा घर निर्माण भइरहेका छन् भने ३६ घर मापदण्ड बन्नुअघि नै बनेका छन्।- अन्नपूर्णपाेष्ट दैनिकबाट ।
स्थानीय तह भूकम्पप्रभावित जिल्ला